© २०२३
नवलपरासी-बर्दघाट ।
बर्दघाट नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगित भएको छ । सुरुमै आ आफ्नो समयमा बोल्ने वडा अध्यक्षहरूले विभिन्न विषयमा असहमति जनाएपछि कार्यपालिका बैठक स्थगित भएको हो । विमति जनाउँदै वडा अध्यक्षहरूले हस्ताक्षर गर्न नमानेपछि निर्णयमा गणपूरक सङ्ख्या नपुग्ने भएपछि बैठक स्थगित भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
शुक्रबार दिउँसो २ बजेबाट सुरु भएको बैठकमा कार्यालयको नियमित काम बाहेकका अन्य दुई वटा प्रस्तावहरू पेस भई छलफल सुरु भएको थियो ।हिलामय भएपछि नगर भित्र रहेका हाटबजारमा खसालिएको मिस्कटको २ लाख ८० हजारको खर्च अनुमोदन र भूमि सम्बन्धी दुई वटा ठोस प्रस्ताव रहेका थिए । मिस्कट खसालिएको खर्च अनुमोदनको प्रस्तावमै कार्यपालिका बैठकमा उल्झन सुरु भएपछि बैठक सौहार्द वातावरणमा चल्न सकेन ।
नगरप्रमुख ले विषयगत समितिलाई नसोधी अन्यत्र ठाउँको आवश्यकता समेत पहिचान नगरी बिना छलफल तोकादेशको भरमा निर्णय गरेको भन्दै उक्त खर्च अनुमोदन गर्न वडा अध्यक्षहरूले इन्कार गरे । नगर प्रवक्ता सन्त बहादुर गाहले भने “मेयर साब तोक लगाउने ,उपमेयर अनुगमन गर्ने र हाकिम साबले भुक्तानी दिने भएपछि हामी किन चाहियो”।
नगरप्रमुख श्रेष्ठले बैठक अघि बढाउन माइन्युटमा उपस्थिति जनाउन हस्ताक्षर गर्न आग्रह गरे पनि कार्यपालिका सदस्यहरूले हस्ताक्षर नगरेपछि गणपूरक सङ्ख्या नपुग्ने भन्दै श्रेष्ठले बैठक स्थगित गर्नु पर्ने बताए । अति आवश्यकताका आधारमा नागरिकका प्राथमिकता हेरेर कतिपय निर्णय अपर्झट गर्नु पर्ने भएकाले गरिएको श्रेष्ठले बताए । निकै आक्रामक रूपमा चलेको बैठकमा अध्यक्षहरूको सवाल पछि जवाफ दिँदै नगर प्रमुख श्रेष्ठले भने”सबै कुरामा विधि प्रक्रिया नै हेर्ने भए सबैको हेर्नु पर्ला है साथी हो “,२ नम्बर बुँदा बाहेक अरू छलफल अघि बढाऊँ”।
निकै नोकझोकका बिच माहौल मत्थर नभएपछि बैठक अन्ततः कुनै निर्णय नै नभै स्थगित भएको थियो ।वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले विषयगत समिति ब्युँताउने तर उनीहरूलाई थाहै नदिई काम गरेपछि समितिको अर्थ नभएको उल्लेख गरे । नगरप्रमुख सँग भएको छलफलमा ११ बुँदे प्रस्तावमा सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै गुरुङको आपत्ति थियो ।
वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले विपद्का समयमा कतिपय अपर्झट निर्णय गर्नु पर्ने भएकाले यस्ता विषयमा आपत्ति नजनाई बैठकलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
किन बैठक स्थगित भयो भन्ने प्रश्नमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले बैठकको लाइभ हेर्न अनुरोध गर्दै सबै कुरा त्यही बाट प्रष्ट हुने बताउँदै यी खालका अवरोधहरूले नागरिककै काम प्रभावित हुने र यसले नागरिकमा समेत गलत सन्देश प्रवाह हुने बताए । “हामीले जसको काम गर्छौ भनेर जितेर आएका हौँ उनीहरूकै काम रोकिएपछि यसको जबाफदेही सबै हुनुपर्छ”नगर प्रमुख श्रेष्ठले भने “।
पालिका बाट सम्पादन हुने कार्यहरूको पुर्ववत जानकारी हुनुपर्ने र मूलतः विषयगत समितिहरूलाई अर्थपूर्ण भूमिका सहित अघि बढाइनु पर्ने वडा अध्यक्षहरूको माग रहेको छ ।बर्दघाट नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ बैठकको लाइभ गरेको थियो । दोहोरी शैलीमा चलेको बैठक सहमति नभएपछि छोटो समयमा नै स्थगन भएको थियो । यति बेला नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीयले मात्रै निर्णय गरेर नगर चलाएको वडा अध्यक्षहरूको आरोप छ ।
पछिल्लो समय स साना विषयको उल्झनका कारण कार्यपालिका नै अवरुद्ध गरेर जनताको काम प्रभावित हुन नहुने एक वडा अध्यक्षले बताए । आपसी सहमतिमा टुङ्ग्याइनु पर्ने केही वडा अध्यक्षहरूको सुझाव छ ।