© २०२३
दाङ, ३१ साउन ।
दाङमा आगामी भदौ २ गतेदेखि ४ गतेसम्म करिब १२ हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। यस अभियानअन्तर्गत १२ वर्ष माथिका बालबालिका, बयस्क तथा ज्येष्ठ नागरिकलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ।
कार्यालयले सोमबार घोराहीमा पत्रकारहरुसँग आयोजित अभिमुखीकरण कार्यक्रममा खोप अभियानबारे जानकारी गराएको हो। कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले हाल नेपालमा देखा परेको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ विरुद्ध यो खोप दिन लागिएको जानकारी दिए।
यसका लागि जिल्लाका दशवटै पालिकामा ९५ वटा खोप केन्द्र तोकिएका छन्। जसअन्तर्गत घोराही उपमहानगरपालिकामा १५, तुलसीपुरमा २५, लमहीमा ८, राप्ती गाउँपालिकामा ९, गढवा गाउँपालिकामा ९, राजपुर गाउँपालिकामा ४, वंगलाचाली गाउँपालिकामा ८, बबई गाउँपालिकामा ४, शान्तिनगर गाउँपालिकामा ५ र दंगीशरण गाउँपालिकामा ७ वटा केन्द्र रहनेछन्।
जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन भानु ज्योती ओलीले विगतमा भएको खोप अभियानको अवस्था र यसपालि दिन लागिएको खोपबारे जानकारी दिएका थिए। कार्यक्रममा प्रमुख गुरुङले कोभिडका विभिन्न भेरियन्टबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको र त्यसको प्रमुख माध्यम खोप नै भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई खोप लगाउन आग्रह गरे। साथै, अभियानलाई सशक्त बनाउन सञ्चारकर्मीहरूको सकारात्मक सहयोग आवश्यक हुनेमा उनले जोड दिए।