© २०२३
बुटवल, ३१ साउन ।
‘पेशागत हकहितका लागि हाम्रो प्रतिवद्घता’ नारासहित स्थापित नेपाल औषधीगत बिक्री प्रबन्धक संगठन, लुम्बिनी शाखा (पिन लुम्बिनी) को पाँचौँ इकाई अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रमको लुम्बिनी शाखाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय उपाध्यक्ष हरिहर भण्डारीले उद्घाटन गर्दै बजारमा अवैध औषधि भित्रिने समस्या, भ्याट प्रोडक्ट जटिलता र अनलाइन मल्टिभिटामिन बिक्री जस्ता चुनौतीहरु रहेको बताए । औषधीसंग सरोकारवाला विभिन्न संघहरुबिच सहकार्य गर्दै यस्ता समस्या चिर्न संस्थागत पहल जरुरी रहेको उनले बताए ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. कृष्ण प्रसाद खरेलले औषधी प्रबन्धकहरुबाट औषधीका बारेमा धेरै ज्ञान पाउने र यो सम्बन्ध दीर्घकालिन रहने बताए । चिकित्सक र औषधी प्रबन्धकबीचको सम्बन्ध पारिवारिक प्रकृतिका रुपमा ब्याख्या गर्दै उनले सबै पेशा ब्यवसायमा एकअर्काप्रतिको सम्मान जरुरी रहने बताए ।
कार्यक्रममा नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष डा. दिपक कुमार धितालले आयुर्वेदिक पसलमा एलोपेथिक औषधि वितरण गर्ने वातावरण बनाउनुपर्ने बताए । कार्यक्रममा पिडान लुम्बिनीका उपाध्यक्ष सुदिप पाण्डेले पिन र पिडानबीच नङ–मासुको सम्बन्ध रहेको भन्दै स्वदेशी उत्पादनलाई बजारमा पुर्याउन पिनले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल औषधि तथा बिक्री वितरण संघका अध्यक्ष राजबन्धु लामिछाने, निवर्तमान अध्यक्ष टंक पौडेल, एनपीएका कोषाध्यक्ष विष्णु प्रसाद आचार्य, फान लुम्बिनीका सचिव नारायण बिक्रम कुँवर, पिन पोखराका अध्यक्ष शेषकान्त ढुगानाले औषधिसँग जोडिएका सबै संघहरू एकअर्काका पूरक हुने भन्दै सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
यसैबिच १० वर्षभन्दा बढी औषधी बिक्री प्रबन्धनमा संलग्न लिलानन्द चौधरी, टंक बन्जाडे, सन्जोग गिरी, रामचन्द्र ढकाल र झबिन्द्र प्रसाद भण्डारीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । साथै औषधि बिक्रेताबाट प्रबन्धकका रूपमा बढुवा भएका सदस्यहरुलाई स्वागत कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष चिरञ्जीवी पाण्डेले पेशागत श्रमिकका हकहितमा लड्ने संस्थाको रुपमा पिनको महत्व रहेको बताए ।
कार्यक्रममा सचिव राजु भण्डारीले दर्ता भएका औषधिहरु बिक्री वितरण प्रबन्धकको संस्थागत एकतामार्फत हकअधिकारको वकालत गर्दै आएको जानकारी दिदै हाल शाखामा ९२ जना सदस्य रहेका बताए ।