Butwal Today

‘अब कृष्ण जन्मिने छैन, जन्मेकैले कृष्ण बन्नुपर्छ’ : रवि लामिछाने

३१ श्रावण २०८२, शनिबार
अ+
अ-

बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई जहाँसुकै लगे पनि डराउने अवस्था नरहेको बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार स्थानान्तरणको क्रममा भैरहवा विमानस्थलमा उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग भेट्दा उनले यस्तो बताएका हुन्।

लामिछानेले भने, “राजनीतिक प्रतिशोधले मलाई मंगलग्रहसम्म लगे पनि म नडराउँछु। पुरै नेपाल मेरो घर हो, सबै नेपाली आफन्त हुन्। सबैसँग माया र सद्भाव पाएको छु।”

प्रवक्ता झाले भेटपछि जानकारी दिँदै भने, “सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहारसहित देखिएका सभापतिलाई कारागार सरुवाले कुनै त्रास थपेको छैन।”

भैरहवामा १२६ दिन बिताएको अनुभव साझा गर्दै लामिछानेले सुरक्षाकर्मी, कारागार प्रशासन र खानापानी व्यवस्थापनमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरे।

उनले थपे, “म बसेको कोठाको भित्तामा लेखेर आएको छु — अब कृष्ण जन्मिने छैन, जन्मेकैले कृष्ण बन्नुपर्नेछ। ४६३ दिन अघि कसैले प्रमाण छ भन्यो, मैले प्रमाण माग्दा बल प्रयोग देखाइयो। न्याय खोज्दा प्रतिशोध साधियो। तर पनि म भयभीत छैन, किनकि म जनताको अदालतमा विश्वास गरेरै परिवर्तनको बाटोमा हिँडेको मान्छे हुँ।”