© २०२३
मानिसका विभिन्न किसिमका रुचि हुन्छन् । रुचिले मानिसलाई पछ्याउँछ । मलाई सबै भन्दा मन पर्ने विषय पत्रकारिता हो । त्यसमध्ये छापा माध्यमको पत्रकारिताले मलाई प्रभावित बनाइरहेको छ । म एसएलसी पास गरेपछि गाउँ (साबिक ढिकपुर गाविस वडा नम्बर ७ अस्पारा) बाट घोराही बजार आए । बाल मन्दिर अगाडि घर थियो । सोही घरमा बसेर महेन्द्र बहुमुखी क्याम्पसमा आइए (प्रवीणता प्रमाणपत्र तह) को पढाइ सुरु गरे ।
सोही समयमा सात दिनको पत्रकारिता सम्बन्धी तालिमको सूचना आएको थियो । त्यस तालिम लिने अवसर मिलेको थियो । त्यो तालिम पछि दाङबाट प्रकाशन हुँदै आएको गाउँघर सात दिने पत्रीकामा समाचार र स्तम्भ लेख्न थाले । समाचार र साप्ताहिक लेख लेख्ने क्रम निरन्तर चलेको थियो । पछि लुम्बिनी दैनिकमा पनि लेखहरू लेख्न थाले ।
२०६१ सालमा बिहे भएपछि पत्रकारिता केही ओझेलमा परयो । बसाई गाउँमा भयो । त्यसैले पनि निरन्तर काम गर्न सकिन । २०६३ सालमा घोराही बजारमा बसाई सुरु भयो । त्यसपछि फेरि फाटफूट लेखन लेख्न सुरु गरे । पहिलेको जस्तै गतिमा पत्रकारिता अगाडि बढ्न सकेन ।
कारण थियो छोरी मान्छेलाई बिहे पछिको समय व्यवस्थापन गर्न अलि समस्या हुने रहेछ । त्यसमा बच्चा भयो भने झनै समस्या । म पनि त्यसको चपेटामा परे । एकतिर बच्चा अर्कोतिर सामाजिक संस्थामा काम गर्ने भएकाले मैले पत्रकारितामा डटेर लाग्न सकिन । रुचि र चासो काम थिएन । कतै कार्यक्रममा गयो त्यो विषयमा समाचार तयार गर्ने काम त गर्थे तर दैनिक समाचार लेख्ने काम गर्न सकिन ।
२०७५ सालदेखि मैले फिल्ड जाने र स्थलगत रिपोटिङ सुरु गरे । मलाई हौसला दिने र आफ्नो रुचिको काम गर्न सधैँ प्रेरित गर्ने श्रीमान्का कारण पनि म पुन पत्रकारितालाई निरन्तरता दिन थालेको थिए । उहाँ पेसाले शिक्षक भएपछि पत्रकारिता मन पर्ने फिल्ड भएकाले रिपोटिङका लागि उहाँ फिल्ड जानका लागि साथ दिनुहुन्छ ।
फुर्षद भयोकी फिल्ड जाऊ भनिहाल्ने बानी छ, मलाई पनि फिल्ड गयो भने समाचार पनि आउने घुम्न पनि पाइने अरू बाहिरको साथी खोज्नु नपर्ने धेरै सजिलो भएको छ ।
एक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भने झैँ एक महिला सफल हुन पुरुषको साथ सहयोग चाहिन्छ भन्ने मान्यतालाई पुष्टि गरेको छ ।
मैले लेखेका समाचारका सकारात्मक प्रभाव देख्दा उहाँमा पनि खुसीको मिटर चढ्छ । अहिलेसम्म समाचारका कारण कसैको धम्की, खप्की खानु परेको छैन यसमा खुसी लागेको छ । समाजलाई मार्गनिर्देन गर्ने र आवाज विहीनको आवाज बनेर काम गर्न पाउँदा आनन्द लाग्छ ।
मेरो समाचार दाङबाट प्रकाशन हुने नयाँ युग बोध र गाउँघर सात दिने पत्रिकामा प्रकाशन हुन थाल्यो । म बिस्तारै पत्रकारितामा रमाउन थाले । सोही समयमा काठमान्डौमा रहेको पालिका खबरले पनि मलाई समाचार पठाउन भन्यो तीन महिना काम गरे पैसा दिएन अनि मैले छोडे । म फिल्ड जाने र फिचर समाचार लेख्न थाले पछि पत्रकारितालाई निरन्तरता दिने काम गरेको गरे । मेरो लेखनकला निखारिँदै थियो ।
मलाई दैनिक रिपोटर बन्ने रहर जागेको थियो । मैले समाचार लेखिरहे । एउटा गज्जबको शीर्षकमा समाचार लेखेर (दाङमा महिला मात्रैले चलाएको विद्यालय) प्रकाशन गरे । मैले लेखेको त्यो समाचार तलमाथि पारेर राससमा प्रकाशन भयो ।
राससका प्रदेश प्रमुख भरत केसीलाई फोन गरे मैले लेखेको प्रकाशन हुन्छ भने म पनि त्यसमा काम गर्न पाउनुपरयो । उहाँले दाङमा खाली छैन देउखुरीमा राजधानी जाने हल्ला छ त्यताको लागि नयाँ डेटलाइन बनाउन सकिन्छ की ? माथि कुरा गर्छु भन्नुभयो । भरतदाईले भने अनुसार नयाँ डेटलाईन भयो । २०७७ सालदेखि हालसम्म रासस (देउखुरी,दाङ) समाचारदाताको रूपमा काम गरिरहेको छु ।
२०७९ सालको निर्वाचन नजिकिँदै गर्दा बुटवल टुडेमा आबद्ध भएर हालसम्म निरन्तर दिँदै आएको छु । बुटवल टुडेले समाचारलाई प्राथमिकता दिने र वर्षमा दुइ पटक आफ्ना रिपोटरसंग समिक्षा गर्ने कार्यक्रम मलाई असाध्यै मनपर्छ । सम्पादक, प्रकाशक र समाचारदाताको बिचमा समन्वय भयो भने सौहार्दपूर्ण वातावरण हुन्छ ।
अनलाइन, छापा टेलिभिजन सबै स्थानमा राम्रो वातावरण मिलेको छ । समाचारदाता र सम्पादकको सामिप्यताले काम गर्नेलाई ऊर्जा मिल्छ । समान व्यवहारले मानिसलाई सकारात्मक भावना पैदा गर्छ र काम गर्न जागर चल्छ ।
सोचक कुरा केछ भने मैले समाचार लेख्दा मेरो नामको पछाडि शर्मा लेख्ने गरेको थिए । किनभने मलाई त्यो छोटो सजिलो पनि लाग्यो । विद्यालयमा अधिकारी थियो तर मलाई छोटो लागेर मैले शर्मा नै प्रयोगमा ल्याए । मैले विद्यालय बाहेकका स्थानमा शर्मा नै लेखे ।
राससमा जोडिएपछि त्यहाँ नागरिकता अनुसारको नाम थर चाहिने रैछ त्यसपछि मैले अधिकारी लेख्न सूरु गरेको छु । धेरैले मलाई (शर्मा) थरले चिन्नुहुन्छ । पछिल्लो समय म अधिकारी थरले चिनिन थालेको छु । मेरा पिता जीको थर अधिकारी र नागरिकता पनि सोही अनुसार भएकाले ।
पत्रकारितामा रमाउन र विषय समाउन सक्ने हो भने गज्जवका समाचार आउँछन् । आवाज विहिनका आवाज बनेर धेरै काम गरेका उदाहरण छन् । १२ वर्ष विदेश बसेर कोभिडको समयमा स्वदेश फर्केका घोराही उपमहानगरपालिका– ६ एकजना किसानले चार वटा बाख्राबाट व्यवसाय सुरु गरेर अहिले ७० वटा बाख्रा भएका छन् ।
स्वदेशमा केही गर्ने उद्देश्यले कामको थालनी गरेका थिए । तर दुइ पटकसम्म अनुदानको लागि फम भरेको आफूलाई नपरेको सुनाएका थिए । स्थानीय सरकारले बिदेशबाट फर्केर व्यवसायीक काम गर्न चाहने किसानलाई सहयोग कार्यक्रम अन्तर्गत अनुदान दिने गरेको थियो ।
मैले (वास्तविक किसानले पाउदैनन् अनुदान) शिर्षकको समाचार प्रकाशन गरेको थिए । सोही वर्ष उनले बाख्राको खोर सुधारको लागि अनुदान पाएका थिए । किसान र स्थानीय सरकारको बिचमा पुलको काम गर्न पाउँदा छुट्टै आनन्द आउने रैछ । पत्रकारितामा महिलालाई अवसर र चुनौती दुबै छन् ।
पछिल्लो समय पत्रकारिता क्षेत्र महिला सहभागीका हिसाबले बिस्तार कम हुँदै गएको छ, तर अझै पनि केही संरचनात्मक, सामाजिक, र व्यावसायिक चुनौतीहरू विद्यमान रहेका छन् । पत्रकारिता महिलाहरूको आवाज बुलन्द गर्ने स्थान हो उनीहरूले समय व्यवस्थापन गरेर काम गर्नुपर्ने हुन्छ ।
पारिवारिक जिम्मेवारी र पेसागत जीवनबीच सन्तुलन मिलाउन महिलाहरूलाई चुनौती हुन्छ । पत्रकारिता एक चुनौतीपूर्ण पेशा पनि हो पछिल्लो समय पत्रकारिताका बिकृति आएको छ । नचिनेको र नजाने स्थानमा रिपोटिङमा जाँदा अबस्था हेरेर मात्रै परिचय दिनुपर्ने अबस्था आएको छ ।
गतवर्ष दाङको बंगलाचुलीमा रिपोटिङका लागि अनुकुल मिलेको थियो । गाउँका युवा जति भारतमा काम गर्नजाने र त्यहाँको जमिन सबै बाझो हुने गरेको विषयमा रिपोटिङ गर्नु थियो । त्यहाँ आफ्नो परिचय लुकाउनुपर्ने अबस्था आएको थियो । पढाइको थेसिस गर्नु छ, त्यसैले गाउँ घुम्न आएको भनेर बहाना बनाएर पुरै गाउँ घुमेर रिपोटिङ गरेको घटना ताजा जस्तै हुन्छ ।
गाउँघरका दुरदराजका घटनालाई सरकार समक्ष पुराउनु पत्रकारको पेसागत धर्म हो अनावश्यक तनाब दिएर जनतालाई भ्रममा पार्ने केही पात्रका कारण खुलेर भन्न नसक्ने अबस्था आएको हो । दाङमा महिला पत्रकारहरूको संख्या कम हुदै गएको छ । फिल्डमा जाने र खोजी पत्रकारिता गर्ने त औलामा गन्न सकिने संख्या छ ।
१५५ जना पत्रकार संख्या छ भने ३३ जना महिलाको सख्या छ । पत्रकारितामा लहलहैमा आउने पेसाको सुनिश्चिता नहुने, तलव सुविधा न्यून हुने भएकाले परिवारले साथ सहयोग नगर्ने भएकाले पत्रकार महिलाको संख्यामा कमी आएको छ । तालिम, प्रविधिमा पहुँच, तथा समाचार सम्प्रेषणको अवसर सीमित भएका कारण पेसाबाट पलाएन हुनेको संख्या बढ्दै गएको छ ।