© २०२३
कपिलवस्तु, ३१ साउन ।
कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बाल गृहमा आश्रित परिवारविहीन बालबालिकाका लागि कपडा र फलफुल वितरण गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्रियटिभ मल्टिप्रपोज ग्रुपले बाल गृहमा आश्रित ३० जना बालबालिकालाई कपडा र फलफुल वितरण गरेको हो । ग्रुपका अध्यक्ष रुकबहादुर भुसाल, सल्लाहकार दुर्गा केसी, ग्रुपका सदस्य तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाललगायतले बाल गृहका व्यवस्थापक रामप्रसाद अर्याललाई सामाग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै ग्रुपका अध्यक्ष भुसालले सामाजिक उत्तरदायित्व वहनका लागि यस्ता गतिविधिलाई प्राथमिकतामा राखिएको बताए । “फजुल खर्च कटौती गरेर सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने आवश्यक छ,” उनले भने । साथै, बाल गृहलाई दीगो बनाउन १ करोड रुपैयाँभन्दा बढीको अक्षयकोष निर्माण गरी त्यसको ब्याजबाट गृह सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
बाल गृहका व्यवस्थापक रामप्रसाद अर्यालले बाल गृहलाई प्रदेशकै नमुना बनाउन योजना अघि सारिएको जानकारी दिए । उनका अनुसार, हाल आश्रित ३० बालबालिकाको संख्या आगामी दिनमा बढाएर ५० पु¥याउने तयारी भइरहेको छ ।
ग्रुपका सल्लाहकार दुर्गा केसीले युवाहरूको सकारात्मक प्रयास सामाजिक सेवामा प्रेरणादायी भएको टिप्पणी गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका पूर्व अध्यक्ष किरणमान बज्राचार्य, शाखा उपाध्यक्ष खग प्रसाद चापागाई, ग्रुपका पूर्व सचिव नविन भुसाललगायतको उपस्थिति रहेको थियो ।