© २०२३
बुटवल, ३१ साउन ।
जापान गजुरियो कराते डो क्यानवाकाई नेपाल सघ रूपन्देहीको आयोजनामा रुपन्देहीमा कराते बेल्ट टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । फर्साटिकरस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा शनिबार भएको कार्यक्रममा करिब ११० जना विभिन्न बेल्टका कराते विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको एक समारोहका बिच शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले उद्घाटन गर्दै कराते खेललाई अनुशासन, आत्मसंयम र मर्यादासँग जोडिएको खेलका रूपमा उल्लेख गरे । स्थानिय सरकार खेल र खेलाडीको विकासमा सधै तत्कर रहेको भन्दै उनले पूर्वाधार र खेल सामग्री सहयोग गर्ने बताए । शुद्धोधनका कराते खेलाडीहरूले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पालिकाको नाम चिनाएकोमा गर्व प्रकट गर्दै निरन्तर प्रोत्साहनका लागि पालिका र वडा तत्पर रहने आश्वासन दिए ।
कार्यक्रममा संघकी अध्यक्ष एमकुमारी थापाले कराते खेलले शारीरिक–मानसिक सशक्तिकरणसँगै युवामा नेतृत्व क्षमता र आत्मविश्वास विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस किसिमका बेल्ट टेस्ट तथा ग्रेडिङ कार्यक्रमहरू विद्यार्थीको सीप र क्षमतालाई अझ प्राविधिक ढंगले निखार्ने अवसर भएको उल्लेख गर्दै कराते खेललाई विद्यालयदेखि समुदायसम्म विस्तार गर्न संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाईन ।
कार्यक्रममा लिटल फ्लावर इङ्लिस स्कुल, रोजबर्ड एकेडेमी, जनता मावि अमुवा, सिद्धार्थ मोडल स्कुल, फर्साटिकर मावि, दुर्गा शैक्षिक गृह, शान्ति नमुना मावि मणिग्राम, सुपौली कराते क्लब, ज्ञानपुञ्ज विद्या मन्दिर मानपकडी, शंकर मावि लगायतका विद्यालय र क्लबका खेलाडीहरुको सहभागी रहेको थियो । कराते खेलले युवाहरूलाई अनुशासित, आत्मनिर्भर र शारीरिक–मानसिक रूपमा सबल बनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।