© २०२३
समाचार सारांश
बर्दियाको पश्चिमी क्षेत्र, विशेष गरी बढैयाताल गाउँपालिका–५ स्थित बढैया गाउँ हाल लागू औषधको प्रयोग र कारोबारको कारण चर्चामा आएको छ ।
ब्राउन सुगर जस्तो खतरनाक पदार्थ भारतीय बजारबाट सस्तोमा आयात हुन्छ र यहाँ दोब्बर–तेब्बर मूल्यमा बिक्री हुन्छ ।
१२ वर्षका बालकदेखि ५०–५५ वर्षका वृद्धसम्म यो लतमा परेको प्रहरीको तथ्यांक छ ।
बर्दिया, ३१ साउन ।
बर्दिया जिल्लाको पश्चिमी क्षेत्र, विशेष गरी बढैयाताल गाउँपालिका वडा नम्बर ५ स्थित बढैया गाउँ लागू औषध प्रयोग र कारोबारका कारण चर्चामा छ । लतमा फस्ने केवल बेरोजगार युवा मात्र होइनन् बालबालिकादेखि पचासको हाराहारी उमेरका वृद्धसम्म भेटिन्छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखराका प्रहरी उपरीक्षक राजेश साहुले रेड जोनमै राखेर निगरानी गरिरहेको बताउँछन् । धेरैलाई पक्राउ गरियो, केहीलाई सजाय भयो, तर छुटेपछि फेरि उस्तै हालतमा फर्किन्छन् । उनले भने । बढैयाताल गाउँपालिका भारतको उत्तर प्रदेश सँगै जोडिएको खुला सीमा क्षेत्र हो ।
यो भूगोल तस्करीका लागि आदर्श मानिन्छ—सीमा वार–पार गर्न सहज, निगरानी सीमित र दुवै तर्फको बजारमा माग बलियो रहेको छ । सीमाको यस सहज पहुँचले गर्दा ब्राउन सुगर जस्तो खतरनाक लागू औषध यहाँ सजिलै पस्ने र फैलने गरेको प्रहरीको मूल्याङ्कन छ ।
प्रहरीका अनुसार, भारतीय बजारमा सस्तोमा पाइने ब्राउन सुगर सानो मात्रामा पनि यहाँ ल्याएर दोब्बर–तेब्बर मूल्यमा बिक्री हुने हुँदा कारोबारमा आकर्षण बढेको छ ।
उपरीक्षक साहुका अनुसार, “यहाँ १२ वर्षका बालकदेखि ५०–५५ वर्षका वृद्धसम्मको नाम यो सूचीमा पर्छ ।”
यो तथ्यले समस्या केवल ‘युवा पुस्ताको बिग्रँदै गएको चालचलन” मात्र नभई समग्र समुदायमा फैलिएको देखाउँछ । कथित “पहिलेका समय’ को तुलना गर्दा यो अझ स्पष्ट हुन्छ । बढैयाताल गाउँपालिका वडा नं ५ का बरघर गोविन्द प्रसाद थारु भन्छन् “हाम्रो पालामा युवाले गोठाला जान्थे, सामूहिक काम गर्थे, गाउँलेसँग रमाइलो गर्थे ।
अहिले भने मोबाइलमा टाँसिन्छन्, अनि साथीले सिकाएको ब्राउन सुगरतिर लाग्छन् ।” उनका अनुसार, अघिल्ला पुस्तामा कहिलेकाहीँ घरमा बनाएको स्थानीय रक्सी सामाजिक सन्दर्भमा पिइन्थ्यो, त्यो पनि सीमित मात्रामा । तर अहिलेका युवाले ब्राउन सुगरको लागि घरको सामान चोरी गर्ने, अरूको सम्पत्ति समेत लुट्ने काम गर्छन् ।
बरघर गोविन्द थारुले गाउँमा देखिएको अर्को गहिरो समस्या सुनाए ‘केटाले गल्ती गर्यो भनेर सम्झाउँदा नबुझ्ने, बरु अभिभावकले नै उल्टो गाली गर्छन् । पछि प्रहरीले समात्दा छुटाउन फेरि बरघरलाई गाली गाली गर्छन् ।’ यो व्यवहारले गाउँभित्र नै सामाजिक नियन्त्रणको संरचना कमजोर बनाएको छ । बरु उल्टै ‘नशा र कारोबार’ सामान्यीकृत हुँदै गएको महसुस बरघर र अगुवाहरूलाई छ ।
बढैया गाउँलाई केही समयअघि जिल्ला प्रहरी कार्यालय बर्दिया र मैनापोखर प्रहरीले “रेड जोन” मा राखेर विशेष निगरानी गरिरहेको थियो । त्यस अवधिमा दर्जनौँ प्रयोगकर्ता र कारोबारी पक्राउ परे, केहीलाई अदालतले सजाय सुनायो । तर उपरीक्षक साहुको अनुभवमा “जेल जीवन भोगेर निस्किएका मध्ये धेरै पुनः त्यही कारोबारतर्फ फर्किन्छन् । यो लत मात्र नभई आम्दानीको छोटो बाटो ठानिन्छ ।”
बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम थारुले स्वीकारे “गाउँमा प्रहरी बिट खोल्न वा स्थायी निगरानी राख्न वडासँग स्रोत र साधन छैन ।” उनका अनुसार, वडाले बरघर र अगुवाहरूलाई सचेतना बैठकमा बोलाउँछ, तर खासै सुधार देखिँदैन ।
इलाका प्रहरी कार्यालयले गाउँमा बिट स्थापना गर्न मोटरसाइकल र पेट्रोलको व्यवस्था पालिकाले गर्न आग्रह गरेको भए पनि अझै सुनुवाइ नभएको उनको गुनासो छ । “त्यो बेला आवश्यक साधन दिएको भए यो विकृति धेरै हदसम्म रोक्न सकिन्थ्यो,” अध्यक्ष थारु भन्छन् ।
लागू औषधको लतले गर्दा गाउँमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । कसैले आफ्नै खेत बेचेर नशाको खर्च धानेका छन्, कसैले घरको गहना गिरवी राखेका छन्, अनि धेरैले चोरी–डकैतीसम्मको बाटो समातेका छन् ।
स्थानीय महिला भन्छन् “छोराले नशा गर्न भाँडाकुँडा बेच्छ, पछि भात पकाउने भाँडासम्म हुँदैन । घरमा कहाँबाट अन्न आउँछ रु” यो अवस्था केवल व्यक्तिगत होइन, सामूहिक गरिबीको चक्रतर्फ गाउँलाई धकेल्दै छ । अहिलेसम्म प्रहरीले पाँच जनालाई पक्राउ गरी सजाय दिलाइसकेको छ ।
तीमध्ये दुई जना अहिले पनि कारागारमा छन्, दुई जना रोजगारीका लागि विदेश गइसकेका छन् र एक जना त दुई पटक प्रहरी हिरासतमा बसेर पुनः छाडिएका छन् ।