© २०२३
दाङ, ३१ साउन ।
दाङ लगायत पश्चिम नेपालका थारु समुदायका महिलाहरूले आज धूमधामका साथ अष्टिम्की पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरूले महान् पर्वका रूपमा यो पर्व मनाउने गर्छन् । श्रीकृष्ण जन्माष्टमीलाई थारु समुदायका महिलाहरूले (अष्टिम्की) को रूपमा मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माष्टमीलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ ।
अष्टिम्कीको उत्पत्ति ‘‘अष्टमीटिका’ बाट भएको थारु संस्कृतिविद् गोबिन्द आचार्य बताउँछन् । उनका अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रुपमा मनाउने गरेको हुनाले यस दिनलाई थारु समुदायले अष्टिम्की भन्ने गरेको संस्कृतिविद् आचार्यको भनाइ छ ।

दुई दिनसम्म उल्लासमय वातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरूले दिनभरि केही पनि नखाई ब्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी भित्ते चित्र कोरेर धूमधामसँग टीका, फलफूल अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको घोराही उपमहानगरपालिका वडा नं. १७ का रिता चौधरी बत्ताउँछिन् ।
उनका अनुसार अष्टिमकीको व्रत बसेका दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपट्टिको भागमा लिपपोत गरी रङ्गाइ श्रीकृष्ण भगवानको चित्र बनाउने पहिले नै चित्र भएको भए त्यसलाई रंगरोगन गरि आकर्षक बनाइन्छ । कोरिएको चित्रमा श्री कृष्णको दायाँ सूर्य र बायाँ भागमा चन्द्रमाको चित्र हुन्छ । यसै गरी दोस्रो लाइनमा सात भाइ कौरवको चित्र हुन्छ ।
त्यस्तै तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, गाईलगायत विभिन्न चरा, चुरिंगी र जनावरको चित्र बनाइन्छ । पुजा गर्नुभन्दा पहिले नजिकै खोलामा गाउँभरिका महिलाहरूले स्नान गर्ने गर्दछन् ।
त्यसपछि विभिन्न किसिमको रङ्गीचङ्गी रातो, कालो चोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एक समयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रगीचंगी फूल र चामल लिएर महटावाको घरमा गई पूजा गर्ने गर्द्छ्न । यसरी गाउँभरिका महिलाहरु महटावाको घरमा जम्मा भइसकेपछि महटावाकी श्रीमतीबाट अष्टिम्कीको पूजाको शुरुवात हुने गर्छ ।
‘यसरी भित्तामा कोरिएका चित्रको सबै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्ये बीचमा रहेका श्री कृष्ण (कान्हा)लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गरिन्छ । ठूलाबाट सानो क्रमशै पूजा गर्ने चलन हुन्छ, पूजासँगै सामूहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ । पूजापाठ गरिसकेपछि घर–घरमा गई फलफूल र दही खाई पुनः महटावाको घरमा गई रातभरि गीत गाएर जाग्राम गर्ने गरिन्छ ।
यसरी बिहान भइसकेपछि थारु महिलाहरूले बलिरहेका दियो ‘दीप प्रज्वलन’ गरेर नजिकैको खोलामा लगेर बगाउने गर्दछन् । जुन दिनलाई थारु भाषामा फह्रार भन्ने गर्द्छ्न । अस्ट्मीकी पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरूले उल्लासमय वातावरणमा मनाउने गर्द्छ्न ।