© २०२३
बुटवल, ३१ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरिएको छ ।
प्रशिक्षणमा प्रदेशका पूर्वी रुकुम बाहेक ११ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति, प्रदेश समिति र प्रदेश विभागका पदाधिकारी र सदस्य गरी तीन सय जनाभन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै अर्यालले प्रदेशका १०९ वटै पालिकाको वडादेखि टोलसम्म सङ्गठन विस्तार र प्रशिक्षण चलाउन निर्देशन दिएका छन् । प्रशिक्षणमा अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, पूर्वमन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोसिमा कार्की, क्रान्ति शिखा धिताल लगायतले पार्टी सबलीकरण, रुपन्देही–३ को उप निर्वाचन लगायत विषयमा प्रशिक्षण दिनेछन् ।