© २०२३
बाँके, ३० साउन ।
नेपालगञ्ज उपमहानगरपालिका–४ मा लागुऔषध कारोबारमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्ज शाखाबाट खटिएको टोलीले शंका लागेपछि एक समूहलाई खानतलासी गर्ने क्रममा प्रहरीमाथि इँटा प्रहार भएपछि आत्मरक्षाको लागि गोली चलाउन बाध्य भएको हो । घटनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरुमा नेपालगञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह , २६ वर्षीय भाइजन अन्सारी र भारतको बहराइच, रुपैडिया थाना क्षेत्रका २० वर्षीय अजयकुमार तथा २० वर्षीय कार्तिककुमार रहेका छन् ।
घटनामा एकजना प्रहरी घाइते भएका छन् भने कार्त्तिककुमारको दायाँ खुट्टामा गोली लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।