काठमाडौँ ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेट गुमाएर १७७ रनमा सीमित गरे पनि लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

नर्दर्न टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए। उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै आक्रामक सुरुआत दिलाएका थिए । उनलाई सन्दीप लामिछानेले बोल्ड गरेका थिए । अर्का ओपनर ज्याकब डिकमान ११ रनमै आउट भए भने कोनर क्यारोलले १८, जोर्डन सिल्कले १९, थोमस एन्ड्रयूजले ३२ र क्याडेल म्याकमोहनले १२ रनको योगदान दिए । अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने साहव आलमले २ विकेट झारे । रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित कुमार पौडेलले समान १/१ विकेट लिए ।
१७८ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालका ओपनरले खराब सुरुआत गरे। कुशल भुर्तेल ८ रनमै आउट हुँदा आसिफ शेखले ११ रन मात्रै बनाए। लोकेश बम खाता नै खोल्न नसकी शून्यमा पवेलियन फर्किए। त्यसपछि पनि नेपालको ब्याटिङमा सुधार आउन सकेन ।
कप्तान रोहित पौडेल २३, कुशल मल्ल ३४, दीपेन्द्र सिंह ऐरी १९ र गुल्शन झाले २६ रन बनाए । सोमपाल कामी १ रनमै आउट भए भने अन्त्यतिर रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे ।
नर्दर्न टेरिटोरीका म्याट ह्यामन्डले ३ विकेट लिए । थोमस एन्ड्रयूज र केन रिचडेसनले २–२ विकेट हात पारे भने हमिस मार्टिनले १ विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेल भोलि (शनिबार) बंगलादेशको ‘ए’ टिमसँग खेल्नेछ । त्यसपछि नेपालले अगस्ट १८ मा मेलबर्न स्टार्सको एकेडेमीसँग, अगस्ट १९ मा होर्बट हरिकेन्स एकेडेमीसँग, अगस्ट २० मा मेलबर्न रेनेगेट्स एकेडेमीसँग र समूह चरणको अन्तिम खेल अगस्ट २२ मा पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने तालिका छ ।
११ टोली सहभागी उक्त सिरिजको लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल तथा फाइनल खेलहरू अगस्ट २४ मा हुनेछ । प्रतियोगितामा नेपालसहित पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान, बीबीएलका विभिन्न एकेडेमी टोलीहरू—होर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेट्स—र दुई स्थानीय अष्ट्रेलियन टोली सहभागी छन् ।



