© २०२३
पाल्पा, ३० साउन ।
लुम्बिनी प्रदेश शहकारी रजिष्टार कार्यालयको अनुसन्धानपछि तयार भएको प्रतिवेदन अनुरुप लाली गुराँश बचत तथा ऋण शहकारी सस्थाका व्यवस्थापक विष्णु बहादुर बम्रेल पक्राउ परेका छन् ।
रम्भा गाउँपालिका हुमिनमा मुख्य कार्यालय रहेको शहकारीका व्यवस्थापक बम्रेल २ करोड ८७ लाख ५७ हजार बचत रकम हिनाबिना गरेको प्रतिवेदन अनुरुप देखिएको र बचतकर्ताको उजुरीका आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पा विहीबार पुष्टि गरेको छ ।
यो सहकारीले रम्भा, पुर्वखोला, माथागढी गाउँपालिकाका बचतकर्ताले रकम बचत गरेका छन् । सहकारी संस्थाका प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारणले दैनिक रुपमा बचत गरेको रकमलाई गैरकानुनी तरिकाले आफनो व्यक्तिगत तथा पारिवारिक प्रयोजनमा २ करोड ८७ लाख ५७ हजार ७ सय ४० रुपैयाँ खर्च गरी ठगी गरेको कसुरमा व्यवस्थापक बम्रेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवन भट्टराईले बताए । पीडितहरुको जाहेरी तथा उजुरीको आधारमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको उनले बताए ।
२०६५ सालमा स्थापित सहकारीमा ३५ सय शेयर सदस्य रहेका छन् । अस्थायी रुपमा शिक्षण पेशामा कार्यरत बम्रेलले शिक्षण पेशा छाडेर लामो समय देखि सहकारीमा व्यवस्थापकका रुपमा कार्यरत थिए । सहकारीको रकम हिनामिना गरेको हुन सक्ने स्थानीय तथा शेयर सदस्यले आशंका गर्न लागेपछि अध्ययनको लागि रजिष्ट्रारको कार्यालयमा उजुरी परेपछि २०८१ माघ २६ गतेबाट व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । सहकारी ठगी प्रकरणमा तानसेनमा सञ्चालित तिनाउ सहकारीबाट ठुलो रकम हिनामिना गरेको वर्षौ भएपनि रकम हिनामिना गर्ने व्यवस्थापक अहिले सम्म पक्राउ पर्न सकेका छैनन् ।