© २०२३
लमही, ३० साउन ।
उमेरले साढे ६ दशक पार गरेका दाङको लमही नगरपालिका–४ अर्नहवाका चक्र बहादुर कुमाल र ६३ वर्षकी पुतली कुमाल दम्पतीको बुढेसकालमा सहारा कवाड बनेको छ ।
बुढौली टेकेकाहरू छोरा छोराछोरीको सहारा खोज्नेहरूलाई सन्देश दिँदै हात चल्नसम्म आफै कमाउनु पर्छ भन्दै उनीहरू कवाड बटुल्न तल्लीन देखिन्छन् ।
उनीहरू बिहान सात बज्न नपाउँदै, पुरानो बोरा बोकेर भिडभाड सडक पार गर्दै जान्छन् ।
घाम होस् या पानी, दिन होस् या रात, घरघरको ढोका ढकढक्याउँदै कबाड सङ्कलन गर्ने यो जोडीको यात्रा कहिल्यै रोकिन्न । ओत लाग्ने फुसको घर भए पनि खान लगाउन भने उनीहरूले दैनिकी चलाउने विकल्प कवाड खोज्नुपर्छ ।
३ छोराहरूका बुबा आमा कुमाल दम्पती छोराहरूका लागि बोझ नबन्न कवाड बटुल्ने काम गर्न थालेको बताउँछन् । खुल्ला तथा सडकहरूमा पानीका बोतल, प्लाष्टिकजन्य कवाड सङ्कलन गर्न उनीहरू बिहानै नपुगे अरूले उठाउने भन्दै बिहानको नास्ता मात्र खाएर जान्छन् ।
दिउँसो उतै व्यस्त हुँदा बेलुकी मात्र एक छाक भात खाने गरेको बताउँछन् । कुमाल जातिलाई राज्यले दिँदै आएको कुनै प्रकारको सुविधा नपाएको चक्रले बताए ।
निम्न वर्गका कुमाल उमेरमा ज्याला मजदुरी गरी ३ वटा छोराहरूलाई हुर्काइ सामान्य पढाएको बताए । चक्र भन्छन्, ‘छोरा सबै छुट्टै बस्छन ।
हामी पनि कसैको बोझ बन्नु हुँदैन भनेर यस्तो काममा कागेका छौँ । दैनिक २० देखि ३० किलो कवाड जम्मा हुन्छ ।’ २५ रुपैयाँमा प्रतिकिलो हामीले बेच्ने गरेका छौँ ।” उनीहरू जस्तै लमहीका तेजबहादुर चौधरी गत पाँच वर्षदेखि टिन, प्लास्टिक, बोतल र पुराना सामान सङ्कलन गर्दै जीवन गुजारिरहेका छन् ।
“शारीरिक रूपमा मेहनत गर्न सक्ने काम यो मात्र हो, कमाइ धेरै छैन तर यसैको भरमा बिहान बेलुकी बित्छ,” उनले भने । कुमाल दम्पतीसँगै आर्थिक अभाव, रोजगारीको अभाव र सामाजिक विपन्नताको बिचमा बाँचिरहेका थुप्रै व्यक्तिहरूका लागि कवाडी व्यवसाय अहिले जीवन धारणको महत्त्वपूर्ण आधार बन्दै गएको छ ।
विशेष गरी वृद्ध, अपाङ्गता भएका व्यक्ति, सडक पेटीमा आश्रित बालबालिका र अन्य बेसहाराहरू यस पेसाबाट आफ्नो पेट पालिरहेका छन् । कवाडी सङ्कलनले केवल व्यक्तिगत जीविकोपार्जन मात्र होइन, वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण योगदान पु¥याइरहेको स्थानीय सरसफाइ अभियन्ताहरू हरि कुमाल बताउँछन् ।
बजार र टोल टोलमा फालिएका पुनः प्रयोग गर्न सकिने सामान सङ्कलन गरेर पुनर्चक्रण उद्योगमा पठाइँदा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने गर्छ । तर, यस पेसामा संलग्नहरूका लागि कुनै औपचारिक संरचना वा सामाजिक सुरक्षा नभएकाले उनीहरू अझै असुरक्षित छन् ।
न त स्वास्थ्य बिमा सुविधा छ, न त सुरक्षात्मक उपकरण प्रयोग गर्ने अवस्था । स्थानीय निकायहरूले पूनर्चक्रणसँग सम्बन्धित पेसालाई ‘हरित रोजगार’ को रूपमा विकास गर्न सक्ने विज्ञहरूको बताउँछन् । यदि आवश्यक तालिम, सुरक्षात्मक साधन र बजार पहुँच सुनिश्चित गर्न सके, यसले केवल बेसहारालाई मात्र होइन, वातावरणलाई पनि फाइदा पु¥याउने विश्वास गरिएको छ ।