© २०२३
काठमाडौं ।
गुगल म्याप्सले आजदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ । डिजिटल नेपाल कन्क्लेभ २०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले नेपालका सुन्दर दृश्य र समृद्ध संस्कृतिलाई विश्वभरबाट भर्चुअल रूपमा अवलोकन गर्न सकिने घोषणा गरे।
नैयरले भने, “अब तपाईहरूले विश्वभरबाट नेपालको सुन्दर दृश्यहरू र नेपाली संस्कृति अवलोकन गर्न सक्नुहुनेछ । नेपालमा धेरै सुन्दर मन्दिरहरू र प्राकृतिक सम्पदाहरू छन् ।”
उनका अनुसार स्ट्रिट भ्यू सेवामार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सकिनेछ ।
“अब तपाईं काठमाडौंका जीवन्त सडक र गल्लीहरूमा टहलिन सक्नुहुन्छ । शान्त र सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ,” उनले भने, “तपाईं हिउँले ढाकिएका हिमश्रृंखलाहरूको मनोरम दृश्य देखाउने घुमाउरा सडकमा पनि भर्चुअल यात्रा गर्न सक्नुहुन्छ ।”
नैयरले थपे, “यी सबै दृश्यहरू अब फोन वा कम्प्युटरबाट सजिलै हेर्न सकिन्छ । यसले तपाईंलाई नेपालको समृद्ध वास्तुकला, प्राचीन मन्दिर र दरबार, चहलपहलयुक्त बजार र जीवन्त परम्परासँग नजिकबाट परिचित गराउनेछ ।”
नेपाल प्राकृतिक रूपमै धनी भएकाले यो नयाँ माध्यमले विश्वलाई नेपाल अनुभव गर्ने मौका दिने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उनको विश्वास छ । “नेपालको सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनाको प्रवर्द्धनमा यो सेवा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने ।
गुगल स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरका अनुसार नेपालका नवीनतम दृश्यहरू हेर्नका लागि गुगल म्याप्स खोल्नुपर्नेछ र ३६० डिग्री भ्यू हेर्न पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गर्नुपर्नेछ ।