© २०२३
लामो समयको खडेरीपछि अहिले मौसमले निकै साथ दिएको छ । असारको मध्यदेखि साउनको दोस्रो सातासम्म पानी नपरेको कारण धान उत्पादनमा भारी गिरावट आउने आशङ्काबिच साउनको अन्तिम सातादेखि परिरहेको पानीले किसानलाई राहत दिएको छ ।
अहिले किसानहरूको खेत धान बालीले हरियो भएको छ । पानीसँगै किसानले धान खेतमा युरिया मल हाल्ने तयारी गर्दैछन तर यति बेला युरिया मल कतै पाइएको छैन । किसानले युरिया मल हाल्ने तयारी गरिरहँदा भने बजारमा मलको अभाव भएको छ । लुम्बिनी प्रदेश सरकारले यो वर्ष समय अगावै मलको व्यवस्था गर्ने घोषणा गरेको थियो तर रोपाई सकेको पनि दुई महिना बढी हुँदा समेत मलको आपूर्ति भएको छैन जसका कारण समस्या बढेको छ ।
सङ्घीय सरकारले किसानलाई युरिया र डाई मल वितरण गर्ने प्रतिबद्धता जनाए पनि सरकार मल उपलब्ध गराउन असमर्थ भएको छ । यद्यपि कृषकहरूले समयमै मल नपाउने समस्या अहिले मात्र नभै धेरै वर्ष अघिकै समस्या हो । विडम्बना के छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले मल वितरण गर्न निर्देशन दिनुपर्ने भएको छ ।
तर पनि किसानले मल पाएका छैनन् । मंगलवार प्रधानमन्त्रीले कृषि र वाणिज्य मन्त्रीलाई गोदाममा राखेको मल वितरण गर्न निर्देशन नै दिनुप¥यो । आखिर यो अवस्था किन आयो ? कृषि प्रधान मुलुकमा सरकारले गोदाममा मल राखेको छ, यता किसान मल नपाएकै कारण छटपटाउनु पर्ने अवस्था उत्पन्न भएको छ ।
एकातिर वितरणका गागि गाउँघरसम्म पुगेको मलमा समेत बिचौलियाको हाबी बढ्दै गएको छ । मलमा पनि पहुँचवालाको प्रभाव छ । अर्कोतिर कालोबजारीमा दोब्बर–तेब्बर मूल्य तिरेर मल किन्नुपर्ने बाध्यता छ । प्रत्येक खेतीको मौसममा रासायनिक मलको अभाव, कालोबजारी, असमान वितरण र राजनीतिक पहुँचमा मल वितरण हुनु चिन्ताको कुरा हो ।
सरकारले अनुदानका लागि अर्बौं खन्याउने, सरकारी तथ्यांकमा मलको मौज्दात देखिने तर वास्तविक किसानको खेतसम्म मल नपुग्ने समस्याको अन्त्य जबसम्म हुँदैन, तबसम्म किसानले मलका लागि सास्ती पाईरहने अवस्था आउनेछ । नेपालमा रासायनिक मलको कथा हरेक खेतीको मौसममा दोहोरिने एउटा निराशाजनक अध्यायजस्तै बनेको छ ।
सरकारले अनुदानका लागि अर्बौं छुट्याउने, सरकारी निकायहरूले गोदाममा मल मौज्दात रहेको तथ्यांक सार्वजनिक गर्ने तर वास्तविक किसानले एक बोरा मल पाउन पनि रातभर लाइनमा बस्नुपर्ने, रित्तो हात फर्किनुपर्ने वा दोब्बर–तेब्बर मूल्यमा कालोबजारीबाट किन्न बाध्य हुनुपर्ने अवस्था वर्षौंदेखि देखिँदै आएको छ । बिडम्वना भनौं युरिया मलकै अभावले किसानहरू समस्या छन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझैपनि परम्परागत कृषिमै निर्भर छ । मलको हाहाकार छ ।
कृषि क्षेत्रको विकासको कुरा र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । मल पाउन पनि रातभरी लाईन बस्नुपर्ने बाध्यता नेपाली किसानको, अर्को तीतो यथार्थ हो । पछिल्ला दिनमा कृषि क्षेत्रमा लगानीको आकर्षण पनि बढ्दो छ र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै रहरलाग्दो व्यवसाय सुरु गरेका प्रशस्त उदाहरण पनि छन् । तर कृषि गर्न आवश्यक मल नै नपाउनुका पछि पीडा छ ।
सरकार किसानका समस्या सुन्नै चाहँदैन । मलका लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अवस्था आउनु हुदैन्थ्यो । तर, यो सवै मल वितरणमा अव्यवस्थाकै कारण भएको छ । सरकारे रासायनिक मलको अभाव, कालोबजारी र असमान वितरण अन्त्य गर्ने भन्दै नयाँ कार्यबिधि बनाउने तयारी गरेको छ । आशा गरौं यो कार्यविधि किसानका लागि बरदान बनोस् ।