Butwal Today

कुवेतमा विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु, नेपाली ९ जना

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेहरूको संख्या २३ पुगेको छ । यीमध्ये ९ जना नेपाली रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष गिरीप्रसाद आचार्यले जानकारी दिएका छन् ।

परिषद्का अध्यक्ष विकास बहादुर सिंह (विकाससिंह ठकुरी) र सचिव सुरेन्द्र लिम्बूले जारी गरेको अपिल पत्रमा भनिएको छ कि कुवेत सरकारको आधिकारिक तथ्यांक अनुसार विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ भने १६० जना अस्पतालमा उपचाररत छन् ।  यसमा नेपालीसहित अन्य एसियाली देशका नागरिक पनि रहेका छन् ।

परिषद्ले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन,  बिक्री र वितरण पूर्ण रूपमा निषेध गरिएको कुरा पुनः उल्लेख गरेको छ । परिषद्ले सबैलाई यस प्रकारका अवैध र घातक कार्यहरूमा संलग्न नहुने,  आफ्नो स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्ने तथा कुवेतको कानुन कडाइका साथ पालना गर्ने अपिल गरेको छ ।

यसैगरी नेपाली दूतावासले पनि पछिल्ला तीन दिनमा ९ नेपालीको मृत्यु भएको र १५ भन्दा बढी नेपालीहरू अस्पतालमा उपचाररत रहेको जानकारी दिएको छ । दूतावासका अनुसार मृत्युका कारणबारे मेडिकल रिपोर्ट प्राप्त भएपछि मात्रै स्पष्ट विवरण दिन सकिनेछ ।

परराष्ट्र मन्त्रालयले पनि यस घटनाबारे जानकारी लिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।