© २०२३
बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा स्थापित गर्ने योजनासहित ‘घुमौं बुटवल’ भन्ने अभियान चलाउने घोषणा गरिएको छ ।
नीति तथा कार्यक्रममा बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली, रेसुंगा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणीजस्ता पर्यटकीय स्थलहरूसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणिय पर्यटन प्रवद्र्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने बताइएको छ ।
‘घुमौँ बुटवल’ भन्ने अभियान अन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरिएको छ र बुटवलमा आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिने र पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गर्ने उल्लेख गरिएको छ ।
बुटवलले यहाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने र बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कको रूपमा स्थापित गर्ने कुरा नगर प्रमुखले बेलाबेलामा बताउदै आएका छन् ।
तिलोत्तमा नगरपालिकाले आ.ब. २०८२/ ८३ को नीति कार्यक्रममा तिलोत्तमा नगरपालिकाका आन्तरिक र बाह्य पर्यटकको बसाई लम्ब्याउन पार्कहरूको सौन्दर्यिकरण, बोटानिकन गार्डेन निर्माण, मोक्षधामको निर्माण, जस्ता कार्यहरू गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।
बुटवल नजिकैको सैनामैना नगरपालिकाको नीति कार्यक्रममा पर्रोहा परमेश्वर बोलबम धाम क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा गुरुयोजना बमोजिम संरचनाहरूको विकास गरिने, संघ, प्रदेश र नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्दै ती क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने साथै सैनामैना क्षेत्रलाई बुद्ध सर्किटमार्फत लुम्बिनी बिकास कोषसँग जोडून आवश्यक पहल गरिने कुरा समावेश छ ।
बुटवल र तिलोत्तामासंग सिमाना जोडिएको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थल बनाउन ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा कृषि पर्यटनलाई विशेष जोड दिइने उल्लेख छ ।
देवदह नगरपालिकाको पर्यटन प्रवद्र्धन विकासको लागि बुद्ध जन्मस्थल एवं बुद्धसँग सम्बन्धित क्षेत्र अन्तर्गत रहेका देवदह नगरपालिकाभित्र पर्ने धार्मिक एवं पर्यटकीय स्थललाई अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने र बुद्ध परिपथमा पर्ने अन्य पालिकाहरूसँग समन्वय, सहकार्य सहयोग र अनुभव आदानप्रदान गर्ने एवं विश्व शान्तिका लागि बुद्धको शान्ति सन्देश र मार्गदर्शन विश्वभर फैलाउन अभियान संचालन गर्ने कुरा नीति कार्यक्रममा समावेश गरेको छ र सो को लागि बुद्ध परिपथ अन्र्तगतका पालिकाहरूसँग समन्वय गरी “बुद्ध परिपथ कोष” को स्थापना एवं संचालन गर्ने कुरा अघि सारेको छ ।
तर बुद्ध सर्किटमा आफुलाई समावेश गरेर पर्यटन प्रवद्र्धनद्वारा लाभ लिने लिने कुरा गरेर नथाक्ने यहाँका पालिकाहरूले छिमेकी पालिकाहरूसंग मिलेर कसरि पर्यटन विकास ल्याउने भन्ने कुरामा सोच्न भ्याएका छैनन् । लुम्बिनी प्रदेशका अधिकांश पालिकाहरूले आफ्नो नीति कार्यक्रममा पर्यटनका कुराहरू समावेश गरिरहेको भएपनि आन्तरिक पर्यटन र बिदेशी पर्यटकलाई ल्याउने, बसाल्ने र घुमाउने कसरि गर्न सकिन्छ र लाभको बाँडफाँड कसरि गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सकेका छैनन् ।
यसले गर्दा पालिकाहरूले पर्यटनबाट प्राप्त हुनसक्ने लाभ समेत गुमाईरहेका छन् । लुम्बिनी प्रदेशमा नेपालमा पाइने सबै भुबनोट ( हिमाल देखि तराई ), सबै सस्कृति र सवै किसिमको जैविक विविधता पाइने भएकोले यसलाई मिनी नेपाल भन्ने गरिन्छ । लुम्बिनी प्रदेश सास्कृतिक र पर्या पर्यटनको लागि राम्रा गन्तव्यहरू रहेका छन् ।
प्रदेशको मुख्य पर्यटकीय गन्तब्य लुम्बिनीमा पछिल्लो वर्ष आन्तरिक र बाह्य गरि करिब १२ लाख पर्यटकहरू आएका थिए । रूपन्देहीको शंकर नगर वनबाटिकामा वर्षेनी ५ लाख पर्यटकहरू आउने गरेका छन् । पर्यटनको हिसाबले यो ठूलो संख्या हो ।
रूपन्देहीका गजेडी ताल, गैडहवा ताल, बाउन्नकोटी जंगल, शंकरनगर वनबाटिका, मणिमुकुन्द पार्क, जितगढ़ी, पिस पार्क, मलमला, पर्रोहा परमेश्वर धाम ,देवदह, कपिलवस्तुका कुदान, तिलौराकोट, जगदीशपुर ताल, शिवपुर गढी, अर्घाखाँचीको सुपा देउराली, नरपानी, बलकोट, छत्रदेव, गुल्मीको रेसुंंगा, पाल्पाको भैरवस्थान, रिडी, तानसेन बजार र बतासे डाँडा, राम्दी, रामपुरको ताल पोखरा र रम्भादेवी, नवलपरासीका सुनवल क्षेत्र, रामग्राम स्तुप, पाल्ही भगवती, पण्डितपुर दाङ्गको धारापानी, जखिरा ताल, धारापानी क्षेत्र, बाँके र बर्दिया राष्ट्रिय निकुन्ज, स्वर्गद्वारी, कमल दह र सिस्ने तथा पुथा हिमालले गर्दा यो प्रदेशका सबै क्षेत्रहरू पर्यटकीय सम्भावनाका क्षेत्रहरू बनेका छन् ।
यिनै सम्पदाको सदुपयोग गर्दै पर्यटकीय लाभ लिनको लागि स्थानीय सरकारहरूले धमाधम पर्यटन सम्बन्धि योजनाहरू बनाउने र कार्यक्रमहरू संचालन गरिरहेका छन् । पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको ६ दशक भन्दा बढी भैसक्दापनि लुम्बिनीले पर्यटकहरूलाई टिकाउन र लाभ लिन सकेको छैन भने स्थानीय तहका पर्यटकीय कार्यक्रमहरूले पर्यटक ल्याउने, टिकाउने र स्थानीय श्रोत तथा उत्पादन बिकाउने कुरालाई सजिलो रूपमा पक्कैपनि लिन मिल्दैैन ।
नेपालमा विदेशी पर्यटकहरू औषतमा साढे बाह्र दिन विताउने गरेका छन् भने स्वदेशी पर्यटकहरू ५ दिनभन्दा कम घुम्ने गरेका छन् । तराईका ठूला पर्यटन बजार भैरहवा र नेपालगन्जमा एक रात बिताउने भारतीय पर्यटकहरू मात्र आउने गरेका छन् ।
यसो हुनुको मुख्य कारण पर्यटकीय सुविधा र पर्यटकीय स्थानको तालमेल नमिल्नु हो । अहिले पनि प्रदेशका सुन्दर पर्यटकीय गन्तव्यमा यातायात र होटलको अभाव छ । होटेल व्यवसाय शहर केन्द्रित छ ।
शहरमा बसेका पर्यटकहरू एक दिनलाई घुम्नको लागि छेउछाउका पर्यटकीय स्थलमा घुम्न गएर होटलमै फर्कने गर्दछन, जसले गर्दा पर्यटकीय क्षेत्र भएका पालिकाहरूले कुनै लाभ लिन सकिरहेका छैनन् । बाँके र बर्दिया राष्ट्रिय निकुन्ज बाहेक अन्य पर्यटकीय गन्तव्यमा पर्यटकहरू २४ घण्टा भित्रमा घुमेर निस्किन सक्ने अवस्था छ । यस्तो अवस्थामा स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा मात्र पर्यटकहरूलाई घुमाएर लाभ लिन सक्ने देखिदैन । यहि कारणले गर्दा प्रदेशका पालिकाहरूका विचमा पर्यटन विकास र पर्यटकीय लाभ लिने बारेमा एकीकृत कार्यक्रमहरू बनाउनु जरुरी छ ।
अहिले रूपन्देही, नवलपरासी र कपिलवस्तुका एक दर्जन स्थानीय सरकारले बुद्धसँग सम्बन्धित पर्यटन कार्यक्रमहरू ल्याइरहेका छन् । बुद्धसँग सम्बन्धित र अन्य पर्यटकीय स्थल र पर्यटकीय पूर्वाधारहरू फरकफरक पालिकाहरूमा रहेकाले एउटा स्थानीय सरकारको योजनाले मात्र पर्यटन विकास हुने र फाइदा लिन सक्ने देखिदैन । प्रसिद्ध तिर्थस्थल रिडीमा गुल्मीको रुरु गाउँपालिका र पाल्पाको तानसेन नगरपालिका, सुपा देउराली वरपरको लागि सन्धीखर्क र शितगंगा नगरपालिका, पूर्वी रुकुमको लागि सिस्ने, भूमे र पुथा गाउँपालिका तथा बाँके पर्यटनका लागि नेपालगंज र कोहलपुर नगरपालिका मिलेर एकीकृत योजना बनाउनु जरुरी छ ।
लुम्बिनी पुग्ने पर्यटक देवदह र कपिलबस्तु समेत पुगोस, बुटवल पुग्ने पर्यटक नुवाकोट र तानसेन पुगोस, तानसेन पुग्ने पर्यटक रिडी, रानीमहल र रेसुंगा जान लालयित होस् । अनि नेपालगंज पुगेर सुस्ताउन नपाउदै गाभर भ्यालीदेखि बाँके र बर्दिया घुम्न मन लागोस भन्ने किसिमले स्थानीय सरकारहरू एकीकृत प्रचार र आतिथ्यता सम्बन्धि कार्यक्रमहरू बनाउनु पर्छ ।
अंन्तरपालिका पर्यटन आवद्धताले गर्दा श्रोतको उपयोग, बाडफाँड गर्न, कार्यक्रमहरूमा दोहोरोपन आउन नदिन र आपसी विवाद आउने नदिन मद्दत पुग्छ । पालिकाहरूले बनाउने पर्यटन कार्यक्रम र योजनाहरूलाई उत्पादनसँग समेत जोड्नुपर्छ । लुम्बिनी आएका पर्यटकले मर्चवारका वासिन्दाले उत्पादन गरेका दुग्ध पदार्थ खाओस् ।
तानसेन घुम्न आउने पर्यटकले पाल्पाली ढाका र रोल्पाका राडीपाखी किनोस्, बुटवल आउने पर्यटकले छपियाका माछाको स्वादमा रमाओस्, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न गएको पर्यटकले थारुले बनाएका परिकारको स्वाद लिदै थारुले बनाएका ढकियाहरू किनेर लगोस् भन्ने कुरालै ध्यान दिन सकियो भने पर्यटकले बढी सुबिधा प्राप्त गर्छन नै स्थानीय उत्पादनले पहिचान र बजार पाउन सक्छन, जसले गर्दा पर्यटनसंग प्रत्यक्ष रूपमा नजोडिएका स्थानीय वासिन्दाहरूले समेत दिगो लाभ लिने अवसर प्राप्त गर्न सक्नेछन् ।
स्थानीय सरकारले स्थानीय पर्यटन विकासका कार्यक्रमहरू ल्याउनु पर्यटन क्षेत्रको लागि सुखद कुरा हो । जबसम्म पर्यटनमा स्थानीयता ल्याउन सकिदैन तबसम्म नेपालले पर्यटकीय लाभ लिन सक्नेछैन र जबसम्म स्थानीय सरकारहरू आपसमा मिलेर पर्यटनका कार्यक्रमहरू ल्याउदैनन तबसम्म पर्यटनमा स्थानीयता कदापि आउन सक्दैन । स्थानीय सरकारहरूले एकीकृत पर्यटन कार्यक्रम अघि बढाएमा मात्र सबै क्षेत्रमा पर्यटक पुग्न र टिक्न सक्नेछन अनि मात्र देशले दिगो पर्यटकीय लाभ लिन पाउनेछ ।