© २०२३
सुर्खेत, २९ साउन ।
सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । झन्डै एक महिना पछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा फरार रहेका जुम्लाको हिमा गाउँपालिका वडा नम्बर तीनका २१ वर्षीय नवराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
रावत हाल सुर्खेत वीरेन्द्रनगर–९ मा बस्दै आएका थिए । गएको साउन ९ गते राती १२ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बसपार्कमा लेक बेसी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियारमाथि चक्कु प्रहार भएको थियो ।
आक्रमणमा परी परियारको आँखामा गम्भीर चोट लागेको थियो । घटना भएको तीन चार दिनपछि परियारको आँखाको ज्योति फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले बताए ।
घटना लगत्तै आक्रमणकारी फरार रहेका थिए । प्रहरीका फरार रहेका रावत काठमाडौँ जिल्लाको महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष सहयोगमा उनलाई साउन २७ गते पक्राउ गरिएको प्रहरी प्रमुख शाहीले बताए ।
पक्राउ परेका रावतलाई बुधवार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराइएको छ । उनीमाथि ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।