© २०२३
काठमाडौं, २९ साउन ।
लगातार तीन दिनसम्म घटेको सेयर बजार साता कारोबारको अन्तिम दिन बिहीबार हल्का वृद्धि भएको छ।
नेप्से परिसूचक आज २.६२ अंकले बढ्दै २७८८ अंकमा पुगेको छ। कारोबारको क्रममा सूचक दुईपटक २८ सय अंक नाघे पनि दिउँसो १:४० बजेपछि केही घटेर बन्द भएको हो ।
बजार सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आजको बजारमा १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घट्यो। ‘अन्य’ समूह सबैभन्दा धेरै, १.८० प्रतिशतले बढ्यो। व्यापार, उत्पादन तथा प्रशोधन, लगानी र विकास बैंक समूह पनि हरियो रहे । यद्यपि बैंकिङ, फाइनान्स, बीमा, हाइड्रोपावर, माइक्रोफाइनान्स लगायतका समूहमा सामान्य गिरावट देखिएको छ ।
नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य आज १० प्रतिशतले उक्लिएको छ। त्यसैगरी पञ्चकन्या माइ हाइड्रोपावर, राधि विद्युत र अपर स्याङ्गे हाइड्रोपावरको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।
उता, नेपाल बैंकको मूल्य सबैभन्दा धेरै, ५.९१ प्रतिशतले घटेको छ भने सिटी होटल र नेपाल एसबीआई बैंकको सेयर मूल्य पनि क्रमशः ३.१६ र २.८० प्रतिशतले घटेको छ ।
कारोबारको संख्याका आधारमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा अग्रस्थानमा देखिएका छन्। बजारमा देखिएको आजको सुधार लगानीकर्ताहरूको मनोबलका लागि केही हदसम्म सकारात्मक संकेतका रूपमा लिइएको छ ।