© २०२३
डेंगु सङ्क्रमण फैलिरहेको बेला जापानीज इन्सेफ्लाइटिसको जोखिम समेत बढिरहेको छ । स्वास्थ्य सेवा विभागले बालबालिकाहरूमा जापानीज इन्सेफ्लाइटिस बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर ६० जना बढीमा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिसकेको छ ।
अहिलेसम्म कसैको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छैन तर जोखिम बढिरहेकोले सावधानी अपनाउनु हरेक नागरिकको कर्तव्य हो । विश्वकै तथ्याङ्क हेर्ने हो भने विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुने गरेको अवस्था छ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यान समेत जाने गरेको छ । संक्रमणबाट संक्रमित लगभग ७० प्रतिशत मानिसमा स्नायु सम्बन्धी समस्या विकास गर्ने जोखिममा हुन सक्छन् ।
तथ्याङ्कमा आएको भन्दा बढी यसको वास्तविक संख्या दोब्बर हुनसक्ने अनुमान विज्ञहरूको छ । नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रूप लिने गरेको छ । तसर्थ अव जापानीज इन्सेफ्लाइटिसबाट सतर्कता अपनाउन ढिलाई नगरौं । लक्षण देखिएपछि निको नहुन सक्छ र निको भएपनि बिरामी शारीरिक र मानिसिक रूपले अशक्त हुनसक्ने भएकोले जोखिम निम्त्याउनु भन्दा रोगबाट बच्नु नै उत्तम हुन्छ ।
तसर्थ प्रत्येक नागरिकले सावधानी अपनाउनु जरूरी छ । जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।
त्यसैपनि अहिले बर्षायामको मौसम छ । यही बेला देशैभरी संक्रामक रोगहरू बढी देखिन्छन् । यो समय बढी जीवाणुहरू आद्र्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैन । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ ।
सङ्क्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ । सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढी देखिने गरेको छ । यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ ।
लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछ र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ । तसर्थ घर वरिपरी सुगुर र हाँस छ भने सतर्कता अपनाउनु आवश्यक हुन्छ । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् ।
विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।
जापानीज इन्सेफ्लाइटिस देखिने क्रम बढ्न थालेपछि यसले नेपालमा चुनौति निम्त्याएको छ । यसलाई सामान्यरूपमा लिए त्यसले भयावह अवस्था निम्त्याउन सक्छ भन्नेतर्फ पूर्व सतर्कता आवश्यक छ । खासगरी बर्षाको सेरोफेरो र दशैं तिहारजस्ता पर्वको आगमनकै पूर्व सन्ध्यामा यसको जोखिम बढि हुने देखिएकोले बर्षाको मौसममा लामखुट्टेबाट जोगिनेतर्फ ध्यान दिनु आवश्यक छ ।
यो बिषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गंभीर बन्नु जरुरी छ । त्यसैपनि अहिले डेंगीको जोखिम छ । त्यसमाथि जापानीज इन्सेफ्लाइटिसको चुनौति थपिएको अवस्थामा हरेक नागरिक स्वास्थ्यप्रति सचेत हुनु जरूरी छ ।
नेपालमा जापानीज इन्सेफ्लाइटिसको जोखिम बढिरहेकोले चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरिसकेका छन । अहिले पानी पर्नेक्रम समेत बढेकोले लामखुट्टेको प्रकोप बढिरहेको अवस्था छ । तसर्थ बेलैमा सावधानी अपनाएर रोगको जोखिमबाट बच्नु सवैभन्दा ठूलो बुद्धिमानी हुनेछ । जापानीज इन्सेफ्लाइटिसबाट साना बालबच्चा बढी प्रभावित देखिएका छन ।
जापानीज इन्सेफ्लाइटिसको खोप समेत उपलब्ध छ । सरकारले बालबालिकालाई यसको खोप समेत दिएको छ । तरपनि जोखिम बढिरहेको देखिएकोले समयमै सतर्कताको आवश्यकता छ ।