© २०२३
बुटवल, २९ साउन ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ क्षेत्र नं. २ रुपन्देहीले बिहीबार बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक एकता, मौलिकता र सांस्कृतिक संरक्षणमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले तीजको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै विकृति भित्रिन नदिन सबै सचेत रहनुपर्ने बताइन् । महासमिति सदस्य रामबहादुर कार्कीले तीजको मौलिक पहिचान जोगाउन र सामाजिक विकृति रोक्न आग्रह गरे । लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकालले तीजलाई मौलिक र सामाजिक सन्देश दिने पर्वका रूपमा अघि बढाउनुपर्ने धारणा राखिन् ।
रुपन्देहीका सभापति रामकृष्ण खाण, बुटवल नगर प्रमुख खेलराज पाण्डेयले तीजको मौलिकता संरक्षणको आवश्यकता औंल्याए । कार्यक्रमकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारीले महिला दिदीबहिनीबीच भेटघाट र आपसी सम्बन्ध सुदृढ गर्न तीज मिलन आयोजना गरिएको बताइन् ।