© 2026
गुल्मी, २९ साउन ।
अविरल वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग सडक अन्र्तगत गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले बताएका छन् ।
सडक अवरुद्ध बनेपछि रुरुक्षेत्र गाउँपालिका ‐ ३ स्थित पानी टंकीबाट थोर्गाहुँदै साल बिसौनाको वैकल्पीक सडक प्रयोग गर्न सकिने रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जाकनारी दिएका छन । अवरुद्ध सडक सुचारु गर्नका लागि अहिले पहिरो गएको ठाउँमा स्काभेटरलाई तयारी अबस्थामा राखिएको छ ।
तर सडक माथिबाट निरन्तर पहिरो खसिरहेको कारण सडकमा थुप्रियको पहिरो पन्छाउन समस्या परेको बताईएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र ईलाईट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्र गर्ने काम भैरहेको छ ।
त्यसैगरी वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मीखण्ड स्थित कालीगण्डकी गाउँपालिका –२ अन्तर्गत राक्सेमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेपछि उक्त सडक पुर्णरुपमा अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक सुचारु गर्नका लागि सडक निर्माण कम्पनीले पटक पटक प्रयास गरे पनि सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गंगा बहादुर सारुले बताएका छन ।
त्यसैगरी बुधवार बिहानदेखि अवरुद्ध बनेको रिडी–वामीटक्सार सडक भने सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्र्तगत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा पानीको बहाव घटेसँगै सडक सुचारु बनेको हो ।
विगत तीन दिनदेखि गुल्मी सहित आसपासका क्षेत्रमा निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । निरन्तर बर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ ।