Butwal Today
सौर्य एयरलाइन्स दुर्घटना प्रकरण

कोपाइलट सुशान्तका बाबु भन्छन् – ममाथि ह्यारेसमेन्ट गरियो

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २९ साउन ।

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगका संयोजकमाथि आफूमाथि दुव्र्यवहार (ह्यारेसमेन्ट) गरेको गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीवार बसेको बैठकमा आयोगको प्रतिवेदनमाथि छलफलका क्रममा उनले उक्त आरोप सार्वजनिक रुपमा राखेका हुन्। उनले आयोगका अध्यक्ष पक्षपाती भएको र छानबिन निष्पक्ष ढंगले नभएको दाबी गरे।

उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधि समेत रोकेको उनको आरोप छ। कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गरेको बताए। प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ।

उनले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनबीच उल्लेखनीय फरक रहेको पनि बताए। आफूले देखेको, भोगेको र पाएको जानकारी आयोगको निष्कर्षसँग मेल नखाने दाबी गर्दै उनले मृतक छोरामाथि मात्र दोषारोपण गर्ने प्रवृत्तिको आलोचना गरे।

मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने बताए। दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गरे। उनले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गरेका छन ।

गए वर्ष साउन ९ गते भएको उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। आयोगको प्रतिवेदनमा कोपाइलटको निर्णय र व्यवहारमाथि प्रश्न उठाइएको छ, तर पीडित परिवारले त्यसप्रति गम्भीर असन्तुष्टि जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।