© २०२३
समाचार सारांश
सन्धिखर्क नगरपालिका–२ कुर गाउँ निवासी दीपकले आफ्ना बाबुआमाबाट सिकेको कृषि पेसालाई आधुनिक र व्यावसायिक बनाउँदै लगे ।
उनी अहिले २० रोपनी क्षेत्रफलमा विभिन्न मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् ।
उनले सुरूमा ३ रोपनीबाट थालेको खेती अहिले २० रोपनीमा विस्तार भएको छ ।
अहिले मासिक ५०–६० हजार रुपैयाँसम्म नाफा, र वार्षिक करिब ८ लाख रुपैयाँसम्म बचत गर्न सफल भएका छन् ।
बुटवल, २९ साउन ।
साथीभाइ रोजगारीका लागि बिदेसिँदा युवा कृषक दीपक नेपाली भने स्वदेशमै केही गर्ने हिम्मत गरिरहेका छन् । बाबुआमाले सुरु गरेको पेसाबाट पनि आम्दानी बढाउन सकिन्छ भन्ने उनको सपना अहिले उनको बारीमा तरकारी बनेर फक्रिरहेका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ कुर गाउँ निवासी ४० वर्षीय दीपकलाई तरकारी खेतीले हौसला भरिदिएको छ । दृढ इच्छाशक्ति र चाहना हुने हो भने घरमै बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी । “मैलै आफ्नै बारीमा सम्भावना देखि गाउँमै कृषि कर्म गरेको हुँ”–उनले भने ।

स्नातक तहसम्मको अध्ययन गरेका दीपकले आफ्ना धेरैजसो सहपाठीहरू गाउँ छाडेको र कतिपय वैदेशिक रोजगारीमा गएको बताए । दीपकको कृषि कर्म सजिलो थिएन । तर उनको मेहनत र लगनशीलता अहिले २० रोपनी जमिनमा व्यावसायिक तरकारी खेतीमा देख्न सकिन्छ । उनका बारीमा सिजनअनुसार गोलभेँडा, बोडी, सिमी, गोपी, टमाटर, पालुङ्गो, लौका लगायत १५–२० जातका तरकारीहरू फल्ने गर्छन् ।
वर्षाको समयमा गोपी, टमाटर र हरियो सागपात उत्पादन भएको र बजारको समस्याले गर्दा चाहे जति उत्पादन गर्न नपाएको उनी बताउँछन् । उनीकहाँबाट दैनिक १० देखि २० हजार रुपियाँसम्मको तरकारी बिक्री हुने गरेको छ । तरकारीबाट मासिक रूपमा ५०–६० हजार र वर्षमा आठ लाख रुपियाँसम्मको बचाउन सकेको उनले बताए । उनका अनुसार तरकारी बारीमा ४ जनाले रोजगारी पाएका छन् ।
जिल्लाको सदरमुकाम नजिकै भएको फाइदा उठाउँदै हरेक बिहान आफैँ सन्धिखर्क बजार तरकारी पु¥याउने गरेको उनले बताए । उनका अनुसार गाउँघरमा हुने भोजभतेर, पूजापाठका अवसरमा बारीसम्म आएर तरकारी किन्ने गरेको छन् । स्थानीय बजारमा खपत नभएको अवस्थामा उनले बारीको तरकारी अर्घाखाँची मात्र होइन, कपिलवस्तु र बुटवलसम्म पठाउने गरेका छन् ।

१० वर्षअघि तीन रोपनी क्षेत्रफलबाट सुरु गरेको कृषि व्यवसाय अहिले २० रोपनीमा फैलिएको छ । उनले व्यावसायिक तरकारी खेतीका लागि करिब २० लाख रुपियाँ लगानी गरेको बताए । “मासिक डेढ लाखसम्मको तरकारी विभिन्न बिक्री केन्द्रहरूमा जाने गरेको छ”–उनी भन्छन् ।
प्लान्ट साइन्स (स्नातक तह अन्तर्गत वनस्पति विज्ञान) र स्नातक तह (बिएड) उत्तीर्ण गरेका उनलाई पढाइले तरकारी खेतीमा आधुनिक तरिका अपनाउनमा सहयोग पुगेको छ । उनले बेमौसमी तरकारी खेती गर्दा टनेल प्रविधिको प्रयोग गर्ने गरेका छन् । त्यस्तै मौसमी तरकारी खेतीमा गुम्बत प्रविधि अपनाउने गरेका छन् ।
गुम्बत प्रविधि भनेको ग्रीनहाउस/प्लास्टिक टनेलको एक रूप हो । जसलाई उत्पादनका लागि प्रयोग गरिने गुम्बत आकारको घेराबार र आवरण प्रणाली भनेर चिनिन्छ ।
तरकारी खेती गरिरहँदा बजार व्यवस्थापन र बीउ–मल अभाव जस्ता समस्यासँग जुध्नुपरेको दीपक सुनाउँछन् ।
उनले सरकारी अनुदान प्रक्रियाले आफूजस्ता किसानले हैरानी बेहोरेको सुनाए । “नगरपालिकाले अनुदान त दिन्छ, तर कागजी प्रक्रिया निकै झन्झटिलो हुन्छ,” उनी भन्छन् । यद्यपि उनले जोत्ने ट्याक्टर, टनेल प्लास्टिक जस्ता केही सहयोग भने पाएका छन् । कृषकका खेतबारीमै पुगेर कृषि कार्यालयले प्राविधिकबाट परामर्श र प्राविधिक सहयोग भए थप हौसला मिल्ने उनी बताउँछन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मोतीजंग रायमाझी दीपकले जिल्लामै सफल र व्यावसायिक किसानको रूपमा परिचय बनाएको बताउँछन् । “उनी स्मार्ट कृषि कार्यक्रममा पनि जोडिएका छन्, उत्पादन गरेका विभिन्न थरीका तरकारी जिल्लामा मात्र नभै अन्यत्र पनि बिक्री केन्द्रहरूमा जाने गरेको छ”–रायमाझी भन्छन्–“पालिकाले पनि उनलाई विभिन्न प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाका अनुसार यसरी व्यावसायिक रूपमा खेती गर्ने किसानलाई पालिकाले बीउमा अनुदानदेखि लिएर उत्पादित वस्तुको बिक्रीमा समेत अनुदान दिइरहेको छ । “दीपक नेपाली जस्तै सन्धिखर्कमा मात्रै व्यावसायिक रूपमा ४–५ सय किसान उत्पादनमा जोडिएका छन्, उनीहरूको उत्पादनका आधारमा पालिकाले सहयोग गर्ने गरेको छ”–थापा भन्छन् ।
दीपक नेपाली अहिलेका विदेश मोह भएका युवाहरूका लागि एउटा जीवन्त प्रेरणा हुन् । “देशमै परिश्रम ग¥यो भने, माटोले पैसा फलाउँछ”– दीपक भन्छन् ।