Butwal Today

आफ्नो भूमि जोगाउन खटिएका सुस्तावासीमाथि भारतको मुद्दा

खानका अनुसार आफूसहित अब्दुल कारिद खान,अब्ताब आलम खान,स्थार खान,रंजन लोनिया,गोरख लोनिया,भुल्लन लोनिया,दुःखी यादव,जयनारायण शाह,आकाश साह,कमाल खानलाई मुद्दा दायर गरिएको छ ।
२८ श्रावण २०८२, बुधबार
अ+
अ-

समाचार सारांश

  • सुस्ता क्षेत्र ऐतिहासिक रूपमा नेपालको भूभाग हो र स्थानीय सुस्तावासीले पुस्तौंदेखि जोतभोग गर्दै आएका छन् ।

  • २०२५ साल फागुन १२ गते (फेब्रुअरी २४) मा स्थानीय किसान रञ्जन लोनिया आफ्नो खेत जोत्दै गर्दा भारतीय एसएसबीका जवानहरूले रोके ।

  • विवाद चर्किएपछि गाउँलेहरू घटनास्थलमा जम्मा भए, जसपछि एसएसबीका जवानहरू फर्किन बाध्य भए ।

  • घटनाको भोलिपल्ट (फेब्रुअरी २५) मा एसएसबीले भारतीय बाल्मिकीनगर थानामा एफआईआर दर्ता गरी पश्चिम चम्पारन जिल्लाको बगहा अदालतमा मुद्दा दर्ता गरायो ।

 

नवलपरासी, २८ साउन । 

अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भूमिको सुरक्षार्थ सुस्तावासीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले मुद्दा दायर गरेपछि सुस्तावासी त्रसित बनेका छन् ।

सामान्य विवादको विषयलाई एसएसबीले आक्रमण गरेको भन्दै १४ जना सुस्तावासीमाथि भारत विहार प्रदेशको पश्चिम चम्पारन जिल्ला अदालत बगहामा मुद्दा दायर गरेको खुलेको छ ।  आफ्नै खेत जोतिरहेको बेला भारतीय एसएसबीका जवानहरू आएर रोक्न थालेपछि गत फेब्रुअरी २४ तारिख २०२५ मा विवाद भएको थियो ।

भनाभन हुँदै जाँदा सुस्तावासी जम्मा भएपछि एसएसबी आफै भागेका थिए । प्रतिशोध स्वरूप उनीहरूले जम्मा भएका सुस्तावासीको तस्बिरको आधारमा नाम, ठेगाना पत्ता लगाई  बाल्मिकी नगर थानामा एफआईआर दर्ता गराएपछि थाहा पाएको स्थानीय आमद खानले बताए ।

उनका अनुसार स्थानीय रँजन लोनियाले परापूर्व कालदेखि नै जोत भोग गर्दै आएको जग्गामा ट्याक्टरले जोत्दै आएको बेला एसएसबीका जवानहरू आएर यो विवादित र भारतीय क्षेत्रमा पर्ने जग्गा हो, भन्दै रोक्ने प्रयास गरेका थिए ।

‘२५ फेब्रुअरीमा एसएबीले एफआईआर दर्ता गरायो’, उनले भने, कुनै छलफल नै नगरी बाल्मिकीनगर थानाले २५ फरवरीमै जिल्ला अदालत बगहा पुगेर मुद्दा दर्ता गराएको रहेछ ।

खानका अनुसार आफू सहित अब्दुल कारिद खान, अब्ताब आलम खान, स्थार खान, रंजन लोनिया, गोरख लोनिया, भुल्लन लोनिया, दुःखी यादव, जयनाराय शाह, आकाश साह, कमाल खानलाई मुद्दा दायर गरिएको छ ।

सूचना सुस्ता गाउँमा आएपछि गाउँ तथा छिमेकीहरू खेतमा पुगेका थिए । खेतमा स्थानीयवासीको भिड बढ्दै जाँदा एसएसबी आफै त्यहाँबाट फर्केका थिए, उनले भनी पछि त्यसैलाई मुद्दा गर्ने र दुःख दिइने आधार बनाउँछन् भन्ने लागेको थिएन ।

पछि आफन्तहरूले मात्रै सो घटनामा सुस्तावासीले एसएसबी माथि आक्रमण गरेको प्रपञ्च रचेर मुद्दा दायर गराएको उनले बताए । अदालतमा अब मुद्दाबारे कसरी गएर प्रतिउत्तर लगाउनेबारे जिल्ला स्तरबाट सहयोगको खोजीमा रहेको उनको भनाइ थियो ।

तर नेपाली प्रशासनमाथि पनि भर परेर त्यहाँ पुगे हिरासतमा राख्ने भन्ने त्रास पनि उत्तिकै रहेको छ । यसका लागि अधिकारकर्मी र नागरिक समाज सहितको प्रशासन तथा राजनीतिक दल र जनप्रविधिको सहयोगको अपेक्षा रहेको उनले सुनाए ।

नेपाली भूमि बचाउनमा स्वयं सरकार र नेपाल राज्य लाग्नुपर्नेमा उल्टै भूमि बचाउने सुस्तावासीमाथि खतरा बढ्दै गएको उनको गुनासो थियो ।
सुस्तामा रहेका सशस्त्र प्रहरीको बेस क्याम्पमा एसएसबीका जवान आउने र सशस्त्र बेस क्याम्पका प्रहरीले स्वागत सत्कार गर्ने गर्छन् ।

तर तिनै एसएसबीले सुस्तावासी माथि अनावश्यक मुद्दा चलाउँदा नेपाली प्रशासन र प्रहरी मूक दर्शक बनेको देख्दा कहिलेकाहीँ नैराश्यता उठ्ने गरेको उनको भनाई थियो ।

‘नेपाल भारतका काउन्टर पार्टका स्थानीय अधिकारीको बैठकमा सुस्ताका समस्या कहिल्यै उठाइँदैन,’ उनले थपे,– ‘नेपाल सरकारका तर्फबाट पनि नेपाल भारतको औपचारिक भ्रमणमा पनि सुस्ताका कुरा उठान भए पनि सुस्तेलीको कुरा कहिल्यै उठाएको सुनिँदैन ।’

बेलामै आफूहरू जानकारी नपाएर त्यहाँ हाजिर भएनौ, उनले दुखेसो पोखे, अहिले तँ वारेन्ट जारी गरी सकेको छ । यो मुद्दा लुकीछिपी गर्ने र भूमि अतिक्रमण गर्ने योजनामा भारतीय एसएसबी रहेको आँशका रहेको खानले सुनाए ।

वारेन्ट जारी गरी राखेपछि पुनःएसएसबीसँग विवाद भए पुरानै मुद्दालाई आधार बनाएर गिरफ्तार गर्ने योजना उनीहरूको हुन सक्ने खानको भनाइ थियो । मुद्दासँग तँ हामी डराउँदैनौ, उनले भने, यस्ता मुद्दा हेर्ने हो, भन्ने सुस्तामा जन्मने बित्तिकै सुस्तावासी माथि भारतीयले मुद्दा लगाई हाल्छन् ।

तर दुःखद आफ्ना खेतबारी मात्रै नभई नेपाली भूमिको भारतीयको अतिक्रमणबाट जोगाउँदै आउँदा सोचे जस्तो नेपाल सरकार तथा स्थानीय प्रशासनको सहयोग पाइँदैन ।  सुस्तामा सुरक्षार्थ नेपाल प्रहरीको प्रहरी चौकी छ, सशस्त्र प्रहरीको बेस क्याम्प छ ।

तर ती आफै सुरक्षित छन् कि छैनन् ? भन्ने उनले दृष्टान्त सुनाउँदै भने, झगडा गर्न आएका एसएसबीको गाडी सुस्तावासीले नियन्त्रणमा लिँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले त्यहाँका सुरक्षाकर्मीलाई तुरुन्त त्यो गाडी भारत फिर्ता पठाउन निर्देशन दिइएकी थिइन् ।

उनीहरूले फिर्ता गरिदिए । यसरी सुस्ता भूमिका लागि लड्ने सुस्तावासीको सुरक्षा भन्दा नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीको सुरक्षार्थ खटिएको मात्र अनुभूति भइरहेको उनले सुनाएका थिए ।

माओवादी द्धन्द्धकालको बेला भारतले जब देखी सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) राख्ने कार्य ग¥यो, सोही बेला देखी एसएसबीले आफ्ना कार्य प्रगति देखाउनलाई होला भारती भूमि गिद्देदृटि राख्दै आएका छन् । हालसम्म १४ हजार हेक्टर जग्गा अतिक्रमण गरेको अनुमान गरिएको छ ।

सन १८१६ मा नै भारतमा शासन गरिरहेका बेलायती इष्ट इन्डिया कम्पनी र नेपालको गोर्खा साम्राज्यको बेला नेपाल र कम्पनी बिच सुगौली सन्धि भएको थियो । सोही बेला नेपाल र भारत बिचको सीमा निर्धारण भयो । सीमा निर्धारण गर्ने क्रममा सीमा स्तम्भहरू गाडिएका थिए ।

तर गण्डक नदी किनारमा सीमा स्तम्भ राखिएको थियो कि थिएन, यकिन भएन, नदीलाई नै आधार मानी नेपाल भारत छुट्टिएको पनि सुन्दै आएका हौँ, खानले भने, तर नेपाल भारत हुनु पूर्वदेखि नै सुस्तावासीले आफ्ना जग्गाको उपभोग गर्दै आएका थिए ।

अहिले पनि सो क्षेत्रमा कुनै सीमा स्तम्भ छैन, उनले थपे, सुस्तावासीले जोत भोग गर्दै आएका त्यहाँका धेरै जग्गा एसएसबीले भारतीय भूमिहीनलाई उक्साउँदै अतिक्रमण गराउँदै आएका छन् । सो क्षेत्र स्वयम् भारतीयले पनि सुस्ताकै हो भनी स्विकार्ने गर्छन् ।

तर एसएसबीको निरन्तर सुस्ता भूमि माथि आँखा गाडेको देखिन्छ । बेला बेला विवाद गराउने मुद्दा लगाउने, आफूहरू भारतीय भएको हो, भने केही हुँदैन, थप सुविधा दिलाइदिन्छौ भन्दै लोभ्याउने गरेको उनले बताए ।