© २०२३
काठमाडौं, २८ साउन ।
गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयान लिने प्रक्रिया जारी छ । सबैजना पटके कसुरदार भएको भन्दै अदालतमार्फत कारबाही प्रक्रिया अघि बढाइएको हो ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेशनमा चक्रे मिलनसहित ४७ जनालाई महाराजगञ्जस्थित होटल साम्बालामा चक्रेको जन्मदिन पार्टी मनाइरहेका बेला पक्राउ गरिएको थियो । तर, उनीहरूमध्ये २८ जनालाई पछि छोडिएको थियो ।
अहिले मुद्दा चलाइएका १९ जनामा चक्रे मिलनसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन् ।
प्रहरीका अनुसार, मध्यराति होहल्ला गर्दै सार्वजनिक शान्ति र मर्यादामा खलल पु¥याएको अभियोगमा उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको हो । अदालतको फैसलाले अब उनीहरूलाई कारबाही हुने वा नहुने टुंगो लगाउनेछ ।