© २०२३
नेपालगञ्ज, २८ साउन ।
रासायनिक मल ब्यवस्थापन गर्न माग गर्दै समाजवादी किसान महासंघ, नेपाल लुम्बिनी प्रदेश समितिले बुधबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिएको छ ।
रासायनिक मलको अभाव र कालोबजारीको बढ्दो समस्या अन्त्य गर्न माग गर्दै जसपा नेपाल निकट किसान संगठनले विरोध प्रदर्शनसँगै जिल्ला प्रशासनको गेटमा एक घण्टा धर्ना दिएको हो ।
समाजवादी किसान महासंघ, नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष माधवराम बर्माको नेतृत्वमा गरिएको विरोध कार्यक्रममा किसानको पीडा सडकमा पोखिएको थियो ।
धर्नापछि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जसपा लुम्बिनी प्रदेशका मुख्य सचिव राजान रानामगरले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य अम्विका काफ्लेले सरकार किसानको हितमा कहिल्यै इमान्दार नभएको आरोप लगाइन् । “संघीय सरकारले कुल बजेटको ६ प्रतिशत र प्रदेश सरकारले ४ प्रतिशत मात्र कृषि क्षेत्रमा छुट्याउँदा किसानको जीवनस्तर कहिल्यै उकासिँदैन,” उनले भनिन् । काफ्लेले रासायनिक मल उपलब्ध गराउन नसकेर किसानको भावनामा राजनीति गर्ने परिपाटी अन्त्य गर्न चेतावनी दिइन् ।
उपाध्यक्ष माधवराम बर्माले पनि मलको अभावले उत्पादन घट्दा देशको अर्थतन्त्रमै संकट आउने चेतावनी दिए । “किसानले धान फलाउन सकेन भने नेताहरुको भान्सा कसरी चल्छ, आफैं सोच्नुस्,” उनले तिखो टिप्पणी गरे ।
बर्माले सिमावर्ती बजारबाट किसानले आफैं मल किन्ने बाध्यता रहेको तर सुरक्षाकर्मीले तस्करलाई छोड्ने र वास्तविक किसानलाई दुःख दिने गरेको आरोप लगाए ।
विरोध कार्यक्रममा सहभागी अधिकांश वक्ताले नेपालमा आयात भएको मल व्यवस्थित रूपमा वितरण गर्न, अवैध मल तस्करी तत्काल रोक्न र किसानलाई सुलभ रूपमा मल उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।