© २०२३
बुटवल, २७ साउन ।
सिन्धुपाल्चोकमा जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव राज खरेल र कार्यालय सहयोगी (भान्से) शंकर कार्कीबीच विवाद भएको छ। घटनापछि कार्कीलाई प्रहरी नियमावलीअनुसार बर्खास्त गरिएको प्रहरीले जनाएको छ।
डीएसपी खरेलका अनुसार साउन २२ गते समयमै खाना नबनाएको भन्दै कार्कीलाई सोधपुछ गर्दा उल्टै कार्कीले प्लेटले आक्रमण गरेका थिए। यसक्रममा खरेल घाइते भएको दाबी छ। कार्कीलाई नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखिएको थियो। त्यहाँ पनि उनले होहल्ला र गालीगलौज गरेको, सिनियर तथा जुनियर प्रहरी अधिकारीलाई अपमान गरेको र सम्झाउन पुगेका इन्स्पेक्टरलाई समेत लात्ती प्रहार गरेको प्रहरीले जनाएको छ।
डीएसपी खरेलले आफूले कार्कीलाई कुटपिट नगरेको र कार्कीले लगाएका सबै आरोप निराधार भएको दाबी गरेका छन्। उनले “बाहुन” वा “बासी भात” जस्ता कुरा घटनासँग कुनै सम्बन्ध नभएको र सामाजिक सञ्जालमा आएका केही समाचारहरू मनगढन्ते भएको बताएका छन्।
उता, कार्कीले भने डीएसपी खरेलले आफूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन्। तर जिल्ला प्रहरी कार्यालयले कार्कीको व्यवहार अनुशासनविपरीत भएको भन्दै नियमअनुसार बर्खास्त गरिएको स्पष्ट पारेको छ।