© २०२३
अर्घाखाँची, २८ साउन ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चिया बगानमा गोडमेल गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसको अवसरमा भूमिकास्थान नगरपालिका स्तरीय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एक मात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।
देउराली–लालीगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैँचामा रहेको झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिए ।

चिया बगानमा गोडमेलमा सहभागी भएका भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने बताए । प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै व्यावसायिक कृषि, पर्यटन, उत्पादन र व्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ ।
प्रसिद्ध सुपादेउराली आएका पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्ने, मसिनाको लेक, पाथीभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्को दिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमेकाथान मन्दिर सम्म पुर्याएर स्वर्गद्वारी पठाउने आफूहरूको योजना सुनाउँदै नगरप्रमुख थापाले यसलाई कार्यान्वयन गर्ने दिशामा सबैको सहयोगको अपेक्षा राखे ।
वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का कार्यवाहक वडाध्यक्ष चिन्ता बहादुर बस्नेत, ९ का वडाध्यक्ष खेमराज चुँदाली, १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासङ्घ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, स्थानीय गोपाल भट्टराई, युवा सञ्जालका युवाहरू, सेङलेङका स्थानीय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चिया बगानमा गोडमेल गरिएको देउराली–लालीगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिए ।
