© २०२३
आजभोलिको यो समय बर्षा तथा गर्मीको समय भएको कुरा सर्वविदितै छ । विशेष गरी यो समयमा गर्मी र दूषित पानीका कारण विभिन्न पानीजन्य रोगहरू लाग्न सक्ने सम्भावना अधिक रहन्छ ।
त्यस कारण गर्मी तथा पानीजन्य रोगबाट जोगिन निम्न अनुसारका उपायहरू अपनाउन आम जनमानसमा अनुरोध छ । यसले “म जोगाउँछु मेरो स्वास्थ्य” र “आफ्नो स्वास्थ्यको आफै जिम्मेवारी” भन्ने भनाइलाई सार्थक बनाउँछ । पानीजन्य रोगबाट बच्न सबैभन्दा महत्त्वपूर्ण र सजिलो उपाय भनेको पानी राम्रोसँग उमालेर पिउने । (कम्तीमा १ मिनेटसम्म भकभकी उम्लिएको हुनुपर्दछ) ।
अत्यधिक गर्मीका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा रही आफ्ना समस्या समाधानको लागि थप सल्लाह सुझाव लिने गर्नुपर्दछ ।
सधैँ खाना बनाउनु, खाना खानु, बिरामीलाई छुनु र बच्चालाई खाना खुवाउनु अघि र चर्पीको प्रयोग गरिसकेपछि, बिरामीको स्याहार गरिसकेपछि, विषादी प्रयोग गरिसकेपछि बाहिरबाट घर आइसकेपछि साबुन पानीले मिचिमिची हात अनिवार्य धुनुपर्दछ । उच्च गर्मी तापक्रमबाट बच्नको लागि अत्यधिक गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्नुपर्दछ ।
पानीको मुहान वरिपरि तार जाली लगाउने र पानी दूषित हुन नदिन खुल्ला दिसा पिसाब गर्न तथा गाईभैंसी मुहानमा आउन नदिने । नियमित रूपमा पानी तथा झोलिलो पदार्थ फलफूलको रस, जुस तथा सर्बत प्रशस्त मात्रामा पिउनुपर्दछ । खेतबारीमा तथा अन्य मेलापातका कामहरू सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नुपर्दछ ।
सम्भव भएसम्म रुखको छहारी मुनि, शीतल ठाउँमा, चिसो ठाउँमा वा पङ्खा भएको ठाउँमा बस्नुपर्दछ । उच्च गर्मी तापक्रमबाट जोगिनको लागि चिसो पानीले नुहाउने, आवश्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ । सडे गलेका बासी तथा काँचो खानेकुरा, बजारमा माखा लागेका खाद्य पदार्थहरू प्रयोग नगर्ने वा नखाने ।
उच्च गर्मी तापक्रमबाट बच्नको लागी सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने । यदि बाहिर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सूतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने । खाना राम्रोसँग पकाएर मात्र खाने बानी बसाल्नु पर्दछ । फलफूललाई सफा पानीले राम्ररी धोएर मात्र खानुपर्दछ ।
सतही तथा जमिनको पानीको शुद्धता सम्बन्धित निकायमा गएर चेक गराएर उक्त पानीको प्रयोग गर्ने । दूषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध गराई प्रयोग गर्ने । मदिरा सेवन, चिया कफी सोडा जस्ता पेय पदार्थ, चिनीको मात्रा बढी भएको झोल पदार्थ सकभर प्रयोग नगर्ने । अति नै आवश्यक परेको बेलामा वा ट्रेकिङ वा हाइकिङमा जाँदा क्लोरिन ट्याब्लेट वा झोलले पानी शुद्ध बनाएर पिउने ।
किटजन्य रोगबाट बच्न घरायसी तथा वातावरणीय सरसफाइ गर्ने । लामखुट्टेले फुल पार्ने ठाउँ तथा पानी जम्मा हुने ठाउँ जस्तै टायर, सिसी बोतल आदी हटाउने, घर वरपरका खाल्डाखुल्डी पुर्ने । लामो समयसम्म फ्रिजमा राखिएका खाद्यपदार्थहरू, धेरै चिसो बनाएर राखेको पानी, कोक फेन्टाहरूको प्रयोग पनि सकभर नगर्ने । लामखुट्टे तथा अन्य किटजन्य रोगबाट जोगिन लामो बाहुला भएको कपडा लगाउने ।
पूरा शरीर ढाक्ने, अनावश्यक साँझ वा राती बाहिर नजाने । जानै परे लामखुट्टे भगाउने क्रिम लगाउने । झुलको प्रयोग गर्ने । घरभित्र कीटनाशक झोल छर्ने । जम्मा भएको पानीमा लामखुट्टेको लार्भा खाने माछा पाल्ने । पानीका स्रोतहरूलाई ढाक्ने । फोहोर पानीमा अनावश्यक रूपमा नखेल्ने ।
गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल, भात, रोटी, तरकारी जस्ता खाद्य पदार्थहरू साँझ बिहान प्रयोग नगर्ने जस्ता सावधानी अपनायौँ भने उच्च गर्मीको तापक्रम वा पानीजन्य रोगबाट हुन सक्ने समस्याबाट घरायसी तहबाटै बच्न वा जोगिन सकिन्छ ।
अन्त्यमा गर्मी मौसम र पानीजन्य रोगका कारणबाट मानव शरीरका विभिन्न भागमा पर्न जाने असरलाई माथि उल्लेखित महत्त्वपूर्ण सन्देशहरूलाई मध्यनजर राख्दै आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै नै हुनुपर्दछ । म जोगाउँदछु मेरो स्वास्थ्य भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै भनाई र सुनाइलाई व्यवहारमा लागू गर्नु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
साथै मौसम अनुसारका शरीरलाई फाइदा पुग्ने खालका डे«सहरू लगाउने । पुरानो परम्परा र लोक सांस्कृतिक झल्काउने खालका कपडाहरूको प्रयोग गर्ने । धर्म र संस्कृतिलाई मध्यनजर राखेर मात्र कपडाहरूको प्रयोग गरेमा शुद्ध पानी र स्वास्थ्य खानाको प्रयोगबाट हाम्रो शरीरलाई लाग्ने अधिकांश रोगहरूबाट बच्न सकिन्छ ।
साथै वर्षाको समयमा गाउँ, टोल, बस्ती र सडकहरूमा ढल निकासको राम्रो व्यवस्था गर्ने, पानीका मुहानहरूको नजिक दिशा पिसाब गर्न र गाई बस्तु चराउन रोक लगाउने गर्नुको साथसाथै सरोकारवाला निकायमा रहेका सम्पूर्ण सरोकार बालाहरूले विकासलाई विनाशमा नढाली आवश्यकतालाई मध्यनजर गरी सडक बनाउने र भत्काएका सडकहरू तुरुन्त मर्मत गर्ने ।
पटक पटक सडकका मापदण्ड भत्काउँदै भन्दा आवश्यकीय मापदण्ड छनौट गरी भत्काउनु पर्ने क्षेत्रलाई एक पटक मात्र भत्काई तत्काल त्यसलाई निर्माण गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरू लाग्ने हो ।
सम्पूर्ण नागरिकले आफूलाई एउटा सचेत नागरिकमा परिभाषित गर्न आ–आफ्नो नजिकको फोहोरको उचित व्यवस्थापन, खानपान र पूर्ण सरसफाइमा विशेष ध्यान दिन सकेमा र यदि समस्या नै परिहालेमा आफ्नो समस्याको उचित समाधानको लागी विशेषज्ञ सँगको परामर्श लिने हो भने गर्मी तथा बर्सादको समयमा देखिने पानीजन्य रोगबाट सजिलै घरायसी तहबाट पनि बच्न तथा जोगिन सकिन्छ ।