Butwal Today

त्रिविले गृहमन्त्रालयसँग सुरक्षा माग्यो

२७ श्रावण २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २७ साउन ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थी संगठनको आन्दोलित गतिविधिका कारण उत्पन्न असुरक्षा बढेपछि सरकारले सुरक्षा दिनुपर्ने माग अघि सारेको छ । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को तोडफोड र धम्कीपछि त्रिविले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पत्र पठाएर सुरक्षित वातावरणको माग गरेको हो ।

त्रिविका एक अधिकारीका अनुसार गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई समेत यसबारे जानकारी गराउँदै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ । अधिकारीका अनुसार अहिलेको अवस्थामा त्रिविका कर्मचारी, प्राध्यापक र प्रशासनका उच्च पदस्थ व्यक्ति कार्यालयमै सुरक्षित ढंगले काम गर्न नसक्ने स्थिति छ ।

सोमबार अखिल क्रान्तिकारीका कार्यकर्ताले केन्द्रीय प्रशासनिक भवनभित्र रहेको रजिस्ट्रार तथा रेक्टरको कार्यालयमा तोडफोड गरेका थिए । घटनाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थी घाइतेसमेत भएका छन् ।

विद्यार्थी संगठनको आन्दोलनको जड अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमको केन्द्रीय विभागमा गाभिएको विषय हो । नौ महिना अघि ती कार्यक्रमहरू गाभिएपछि शुल्क बढेको भन्दै विद्यार्थी संगठन आन्दोलित भएको हो । शुल्क तत्काल घटाउनुपर्ने माग गर्दै अखिल (क्रान्तिकारी) २० दिनदेखि उपकुलपति डा. दीपक अर्यालको कार्यकक्ष अगाडि धर्नामा बसेको छ ।

उपकुलपति अर्यालले आन्दोलनका कारण आफैँ कार्यकक्षमै नबस्नुपर्ने अवस्था आएको बताएका छन् । त्रिवि प्रशासनले समस्या समाधान संवादबाट खोजिनुपर्ने भन्दै शैक्षिक वातावरणमा हिंसा र असुरक्षा स्वीकार्य नहुने धारणा राखेको छ ।