भविष्यको सुन्दर सपना देख्दै विदेश मोहमा हरेक दिन त्रिभुवन विमानस्थलमा युवाहरूको लाइन बढिरहेको छ । यो क्रम हरेक दिन थपिँदै गएको छ । संयोग आज विश्व युवा दिवस नेपालमा पनि मनाईदै छ ।
नेपालमा यो दिवस मनाउँदै गर्दा युवाहरू भने नेपालमा रोजगारीको अवसर नपाउँदा विदेशी भूमिमा अवसर खोज्न दौडिरहेका छन् । युवाहरूमा विदेश मोह रहरभन्दा पनि बाध्यता बनिरहेको छ । पछिल्लो समय यस्तो लाग्छ पूरै देश बाहिरिइरहेको छ ।
त्यसमा पनि युवाहरूमा देखिएको छटपटीले विदेशको आकर्षण कति छ भन्ने चरितार्थ गरिरहेको छ । विदेश जानेहरूका आँखामा सिङ्गो देशको अवस्था बोलिरहेको भान हुन्छ । अर्थात् नेपालमा युवाले सोचेजस्तो अवसर छैन ।
जसका कारण हरेक युवाको गन्तव्य विदेश बनिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल ६५ लाखभन्दा बढी नेपालीले विदेशलाई गन्तव्य बनाएका छन् । २०६५ सालदेखि २०८२ को असार मसान्तसम्ममा नेपालबाट ८९ लाख ७५ हजार २६६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको अभिलेखबाट देखिन्छ ।
यसले के देखाउँछ भने नेपालीहरू रोजगारीको खोजीमा बिदेसिने क्रम रोकिने अवस्था छैन । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति पुन श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए । कोरोना महामारीको समय निकै कम भएको वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको दर त्यसयता हरेक वर्ष बढ्दो छ ।
पछिल्लो पाँच वर्ष २०७७ को असारदेखि २०८२ को असार मसान्तसम्ममा ६० लाख ४८ हजार ६७८ नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । वास्तवमा यो भयावह अवस्था हो ।
नेताहरू अब नेपालमै बस्नुपर्छ । नेपालमै अवसर खोजी गर्नुपर्छ भन्छन् तर कहाँ छ रोजगारीको अवसर ? नेपालमा के गरेर बस्ने ? एउटा उद्योग खोल्न एक वर्ष चक्कर काट्नुपर्दछ । सानो किसान परिवारले कृषि फर्म खोल्न ऋण माग्न जाँदा सरकारी बैङ्कका कर्मचारीलाई दक्षिणा नदिईकन कामै बन्दैन ।
एउटा उद्योगले वर्षमा १० पटक सरकारी कार्यालयमा कर तिर्नुपर्ने अवस्था छ । नेपालमा रोजगारी गर्ने र अवसरको खोजी गर्ने भन्दा पनि बिदेसिने क्रम बढ्नुको एउटा कारण यो पनि हो । युवालाई रोक्ने नारामा होइन, अवसरले हो ।
नेपालमै प्रशस्त अवसर हुने हो भने विदेश रहर कोही कसैको लागि प्रिय होइन । युवा दिवसको अवसरमा हरेक वर्ष युवालाई रोजगारी र अवसरसँग जोड्ने कुरा उठ्ने गर्दछ । दिवस मनाउँदै गर्दा युवालाई अवसर र नेतृत्व दिने कुरा अव बहसमा मात्रै होइन कार्यान्वयनमा नै आउनु जरुरी छ ।
त्यसो त नेपालमा युवालाई राजनीतिक अवसर र पहुँच दिने सवालमा अझै पनि आनाकानी हुने गरेको छ । युवालाई राजनीतिदेखि रोजगारी, उद्यम, कृषि सवैतिर बाटो छेक्ने काम भइरहेको छ । लाखौँ युवा अझै पनि अवसरबाट वञ्चित छन् । उनीहरू शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढै छन् । तिनलाई सही दिशामा अघि बढाउने सवालमा अझै पनि ठोस योजना छैन ।
निश्चित रूपमा पछिल्लो समय युवाहरूमा चेतनाको विकास भइरहेको छ । यो खुसीको कुरा हो । आर्थिक रूपमा सम्पन्न युवाहरू राजनीतिसँग जोडिने क्रम बढिरहेको छ । ढिलो चाँडो कुरा मात्रै हो– अबको भविष्य युवाकै काँधमा छ ।
अव देशका लागि युवाहरूको निर्णायक नेतृत्व आवश्यक छ । देश विकासमा उनीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् तर विडम्बना अहिलेसम्म उनीहरूलाई अवसर दिने कुरा कता कता धुमिल भइरहेको छ । अबको दिनमा युवालाई नेतृत्वको अवसर दिन ढिलाइ गर्नु हुँदैन । विश्व युवा दिवसको अवसरमा युवाहरूमा पनि त्यो शक्ति जागोस् ।