© २०२३
चन्द्रौटा(कपिलवस्तु), २७ साउन ।
रासायनिक मलको अभावका बीच उद्योगहरूले युरिया लगायतका पदार्थको दुरुपयोग गरेको आशंका बढेपछि प्रशासनले संयुक्त अनुगमन गरेको छ । कपिलवस्तु सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेको नेतृत्वमा पुगेको टोलीले सोमबार कृष्णनगर नगरपालिकाका ४ र शिवराज नगरपालिकाको १ गरी ५ वटा प्लाउड उद्योगमा छापा मारेको हो ।
अनुगमनका क्रममा उद्योगका मापदण्ड, कागजात र अभिलेख परीक्षण गरिएको थियो । मापदण्डविपरीत गतिविधि गर्ने उद्योगलाई कारबाही र सुधारका लागि निर्देशन दिइएको लामिछानेले बताए । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालका अनुसार धेरै उद्योगमा मैदा प्रयोग भएको र केहीमा घातक रासायनिक पदार्थ समेत पाइएको छ । तर, कामदारले आवश्यक सुरक्षा सामग्री प्रयोग नगरेको पनि भेटिएको छ । मापदण्ड विपरित सञ्चालन रहेको उद्योगलाई सुधार गर्न निर्देशन दिइएको छ । केहि उद्योगलाई निर्धारित समयमा कागजपत्र अपडेट गर्न भनिएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय प्रतिनिधि र प्रहरीको सहभागिता थियो । प्रशासनका अनुसार यस्तो अनुगमनले बजारमा हुने अनियमितता रोकथाम र उपभोक्ता हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।