मनाङ ।
हिमाली जिल्ला मनाङमा पछिल्ला वर्षहरूमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा हुने क्षति उल्लेख्य रूपमा बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै याकचौरी, बाख्रा, च्याङ्ग्रा, गाई, गोरु र घोडालगायत ८७ वटा पशुचौपाया वन्यजन्तुको आक्रमणमा परेर मरेका छन् ।

एक्यापका प्रमुख ढकबहादुर भुजेलका अनुसार हिउँ चितुवा, चितुवा र भालुजस्ता मांसाहारी जनावरहरूले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढेको छ। गत वर्षको तुलनामा याकचौरीमा सबभन्दा बढी क्षति भएको बताइएको छ ।
विगत वर्ष २०८०/८१ मा १७ वटा याकचौरी मरेका थिए भने यस वर्ष त्यो संख्या ५८ पुगेको छ। भुजेलका अनुसार वनमा आहार अभाव भएपछि वन्यजन्तुहरू बस्ती नजिक आउने गरेका छन् ।
खासगरी साना याकचौरीहरू भाग्न नसक्ने भएकाले उनीहरू बढी आक्रमणमा पर्ने गरेका छन्। अर्कोतर्फ, खुला चौरमा राखिने ठूला याकचौरीको सुरक्षामा चुनौती देखिएको छ। अहिले बाच्छाबाच्छीहरूलाई तारबार गरेर सुरक्षित राखिए पनि ठूला चौरी खुला अवस्थामा पाल्ने परम्परा कायमै छ।
प्रमुख भुजेलका अनुसार तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावले चरण क्षेत्र माथि सर्दै गएको छ। यसले पशुचौपाया वनजङ्गलको नजिक चराउन जानुपर्ने बाध्यता सिर्जना गरेको छ। पहिले पानीका मुहान वरपर रहेका घाँसे मैदानहरू सुक्दै गएकाले अहिले जंगलमै चरण क्षेत्र बन्न थालेको छ।
यसले वन्यजन्तुसँगको सिधा सम्पर्क बढाएर आक्रमणको जोखिम बढाएको छ ।
पशुपालक किसान तथा याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले वन्यजन्तुको आक्रमण अघिल्लो वर्षहरूमा पनि भएको भए पनि अहिले झनै बढ्दै गएको बताए ।
पहिले पशु मरे पनि क्षतिपूर्ति नपाइने हुँदा किसान थप मर्कामा परेका थिए। तर अहिले सरकारले क्षतिपूर्तिको व्यवस्था गरेकाले केही राहत मिलेको थाकालीको भनाइ छ ।
एक्यापले जलवायु परिवर्तनका कारण पानीको अभाव, हिमपात नहुनु र हरियाली क्षेत्र सुक्दै जानुजस्ता परिवर्तनहरूले पशुपालक किसानलाई थप जोखिममा पारेको निष्कर्ष निकालेको छ ।



