© २०२३
बुटवल, २६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगका प्रतिनिधिहरूले कारागारको अनुगमनपछि लामिछाने राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् ।
आयोगकी प्रवक्ता लिली थापाका अनुसार, कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको छ भने आधारभूत सुविधाको समेत अभाव छ । उनले शौचालयको संख्या अपुग हुनुका साथै रहेका शौचालयको अवस्था पनि सन्तोषजनक नरहेको बताइन् ।
रवि लामिछानेलाई राखिएको ब्लकको अवस्थाबारे बोल्दै थापाले झ्याल प्लाईले छोपिएकाले हावा प्रवेश गर्न सक्ने व्यवस्था नभएको बताइन् । त्यहाँ एउटा चाइनिज ब्रान्डको पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने खालको ठूलो पंखा राखिएको जानकारी दिइन् ।
सुरक्षाको कारण देखाउँदै जेल प्रशासनले झ्याल बन्द गरिएको भए पनि, झ्याल खोल्न आग्रह गरेपछि प्रशासन त्यसका लागि सहमत देखिएको थापाले जनाइन् । आयोगले समग्रमा कारागारभित्र मानवीय तथा आधारभूत सुविधाको सुधार आवश्यक रहेको टिप्पणी गरेको छ ।