© २०२३
समाचार सारांश
रोल्पाका सामुदायिक वन उपभोक्ता समूहहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालेका छन् ।
वराह क्षेत्र र मयुर महिला सामुदायिक वन समूहहरूले हालसम्म २५ वटा रिचार्ज पोखरी निर्माण गरिसकेका छन् ।
बाबु बाजेले धर्म कमाउन बनाएका पोखरीहरू, आजका पुस्ताले जलवायु संकट समाधान गर्न प्रयोग गरिरहेका छन् ।
रोल्पा, २६ साउन ।
जलवायु परिवर्तनबाट अनुकूलन क्षमता बढाउन रोल्पाका सामुदायिक वनहरूले विभिन्न उपाय अवलम्बन गर्न थालेका छन् ।
उनीहरूले वन क्षेत्रमा रहेका परम्परागत पानी पोखरीहरूको जीर्णोद्धार गरी जलवायुजन्य प्रकोपबाट अनुकूलन र न्यूनीकरणका उपायहरू अवलम्बन गर्न थालेका हुन ।
जिल्लाको सुनिलस्मृती गाउँपालिका २ महेन्द्रीमा रहेको वराह क्षेत्र सामुदायिक वन उपभोक्ता समूह र मयुर महिला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र र बस्तीमा गरी हालसम्म २५ वटा रिचार्ज पोखरी निर्माण गरी सकेका छन् ।
बाजेका पालामा गाईबस्तुलाई पानी खुवाउने उद्देश्यले पोखरीहरू निर्माण गरिएका थिए । ती पानी पोखरीहरूले बस्तीमा पानीको रिचार्जको काम गरिरहेका थिए । पछिल्लो पुस्ताले ती पोखरीको मर्मत सम्भार गर्न छोडे संगै गाउँमा पानीको मुहान समेत सुक्न थालेको स्थानीयहरूको भनाई छ ।
वन जङ्गलमा रहेका ती पोखरीमा वर्षातको मौसममा पानी जम्मा हुने र तल रहेका बस्तीहरूमा रिजार्चको काम गर्दा बस्ती नजिकै मुहान हुने भए पनि ती पोखरी मर्मत सम्भारका अभावमा भासिँदै गएपछि बस्तीमा मुहान समेत सुक्न थालेपछि स्थानीयहरूले त्यस्ता पोखरी जीर्णोद्धार गर्न थालेका हुन ।
बस्ती माथिको वन क्षेत्र र बस्ती नजिक गरी हाल सम्म २५ वटा रिचार्ज पोखरी निर्माण गरी सकेका छौ वराह क्षेत्र सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेहराज घर्तीमगरले भने । २४ मध्ये बस्ती नजिक रहेको एउटा रिचार्ज पोखरी निर्माण गर्न सुनिलस्मृती गाउँपालिकाले २ घण्टा जेसिभी निःशुल्क उपलब्ध गराएको थियो ।
बाँकी २४ रिचार्ज पोखरी निर्माण गर्दा भने सामुदायिक वनको करिब ७० हजार रुपैयाँ खर्च भएको छ । समूहका अध्यक्ष घर्ती मगरले भने । कतै वाट सहयोग प्राप्त भए थप रिचार्ज पोखरी निर्माण गर्ने योजना रहेको अध्यक्ष घर्ती मगरको भनाइ छ ।
बाबु बाजेले धर्म कमाउने उद्देश्यले निर्माण गरेका पोखरीहरू छोरा नातिले जलवायुजन्य प्रकोपबाट जुध्न जीर्णोद्धार गरिरहेका छन् । बाबु बाजेको पालामा पोखरी खनेर धर्म कमाइन्छ भन्ने मान्यता थियो अहिले तिनै पोखरी जलवायुजन्य प्रकोपबाट अनुकूलित हुने माध्यम वनेका छन् समूहका अध्यक्ष घर्ती मगरले भने ।
समय क्रम अनुसार वस्तुको महत्व पनि फरक फरक हुने रहेछ, बाबु बाजेको पालामा जलवायु परिवर्तनको असर थिएन त्यसैले पोखरीलाई धर्म कमाउने वस्तु बनाए, बिचको पुस्ताले पोखरी मर्मत सम्भारमा ध्यान नदिँदा पोखरीहरू भासिन पुगे, अहिलेको पुस्ताले जलवायुजन्य प्रकोपको सामना गर्नु परेकाले त्यही पोखरीलाई रिचार्ज पोखरीको रूपमा जीर्णोद्धार गरेका हौ अध्यक्ष घर्ती मगरले भने ।
सामुदायिक वनले लगानी गरेको घुम्तिकोषवाट प्राप्त भएको व्याजले रिचार्ज पोखरी निर्माणको काम गरेका हौ अध्यक्ष घर्ती मगरले भने । सामुदायिक बनबाट प्राप्त हुने वार्षिक आम्दानी निश्चित रकम वन विकास, गरिबी न्यूनीकरण, संस्थागत विकास र सामुदायिक विकासमा खर्च गर्ने प्रावधान रहेको छ ।
सामुदायिक वनको विधान र वन कार्य योजनाले लक्षित गरे अनुसार बजेट खर्च हुने गर्दछ अध्यक्ष घर्ती मगरले भने । सामुदायिक वनहरूले घुम्तिकोष लगानी गर्दा समूहका सबभन्दा विपन्न उपभोक्तालाई प्राथमिकता दिई लगानी गर्दै आएको समूहका अध्यक्ष घर्ती मगरको भनाइ छ ।
सम्पन्नता स्तरीकरणको आधारमा समूहका सबभन्दा गरिब र विपन्न समुदायबाट सहुलियत ब्याजदरमा घुम्तिकोष लगानी हुने गरेको समूहका अध्यक्ष घर्ती मगरको भनाइ छ ।
वराह क्षेत्र सामुदायिक वनको क्षेत्रफल २९५ हेक्टर रहेको छ । सोही गाउँका उपभोक्ताले उपभोग गर्ने अर्को वन मयूर महिला सामुदायिक वन हो । जसको क्षेत्रफल ३३ हेक्टर रहेको छ । दुवै वन उपभोग गर्ने उपभोक्ताहरूको घरधुरी १२१ रहेको मयुर महिला सामुदायिक वनका अध्यक्ष तिला विकको भनाई छ ।
दुवै वन उपभाग गर्ने उपभोक्ता एउटै भएकाले दुवै वन समायोजन गरी वराह क्षेत्र मयूर सामुदायिक वन बनाउने गरी काम थालनी भएको छ अध्यक्ष विकले भनिन ।
हाल रोल्पा जिल्लामा समुदायलाई हस्तान्तरण गरिएको ६१६ सामुदायिक वनहरूको वन कार्य योजनामा जलवायु परिवर्तन सम्बन्धी कार्य योजना समेत समावेश भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ रोल्पाका अध्यक्ष मनसिंह डाँगीको भनाई छ ।
जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरणका धेरै कार्यक्रम समावेश भए पनि समूहको श्रोत साधनको अभावले कमै सामुदायिक वन उपभोक्ता समूहहरूले मात्रै ती कार्य योजना कार्यान्वयन गरिरहेका छन् अध्यक्ष डागीले भने ।
बजेट खर्च नहुने क्रियाकलापको रूपमा हाल रोल्पाका धेरै सामुदायिक वनहरूले वन क्षेत्रको संरक्षण र विकासका साथै वृक्षारोपण लगायतका हरियाली प्रवर्द्धन गरेर जलवायु परिवर्तनको न्यूनीकरणका काम गरिरहेको अध्यक्ष डाँगीले बताए ।
उपभोक्ताहरूलाई जडीबुटी खेती लगायत अन्य आयआर्जनका क्रियाकलाप मार्फत अनुकूलन क्षमता वृद्धि गर्ने कुरामा समेत काम भइरहेको उनको भनाइ छ ।
सामुदायिक वनहरूले जलवायु परिवर्तन सचेतिकरण लगायत सो सँग सम्बन्धित अनुकूलन योजना बनाइ काम गरिरहेको बताए । सामुदायिक वन समूहहरूले बढाएको हरियाली र वृक्षारोपणले समेत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भूमिका खेलिरहेको डागीको भनाई छ ।