© २०२३
वि.सं. १९७० साउन २६ श्रावण शुक्ल नवमी तिथि, गणित, ज्योतिषशास्त्र एवम् नेपालको इतिहासका सन्दर्भमा एक अविस्मरणीय दिन हो । अर्थात् यसै पुण्यदिनमा इतिहास्विद् एवम् ज्योतिर्विद् नयराज पन्तको जन्म काठमाडौँको महाबौद्धमा भएको थियो ।
उहाँका पिता कृष्णदत्त पन्त रानीपोखरी पाठशालामा व्याकरणका अध्यापक हुनुहुन्थ्यो भने आमा यज्ञप्रिया सामान्य गृहिणी हुनुहुन्थ्यो ।
तर नयराज पन्त डेढ वर्षको हुँदा पिताको अकस्मात् देहावसान भएकाले मावली हजूरबुवा पं. भुवननाथ पाँडेको छत्रछायामा मामाघरमै उहाँको बाल्यकाल बित्यो । रानीपोखरी पाठशालाका ज्योतिष विषयका अध्यापक विद्वान् हजुरबुवासँगको उठाईबसाइले नयराज पन्तमा सानै उमेरदेखि नै विद्या सम्बन्धी भोक पैदा हुन पुग्यो ।
यही भोकले कालान्तरमा उहाँलाई संस्कृत क्षेत्रको एक उदाहरणीय र गण्यमान्य विद्वान्का रूपमा स्थापित गरायो । नयराज पन्तले नेपालको इतिहास, संस्कृत भाषा, व्याकरण, साहित्य र ज्योतिषको क्षेत्रमा गरेको योगदान कसैले लुकाएर लुक्दैन । उहाँका इतिहास, ज्योतिष आदि सबै क्षेत्रका कुरा त सरासर पढ्दा मात्र पनि वर्षदिन भित्र पनि नभ्याइने जस्तो लाग्दछ ।
अझ ती कुराको अध्ययन-अनुसन्धान त कता हो कता । श्रावण २६ गतेको नयराज पन्तको जन्मदिनको प्रसङ्गमा नयराज पन्तसँग सम्वन्धित एउटा महत्त्वपूर्ण पुस्तकको चर्चा गर्ने जमर्को गरिएको छ । अर्थात् नयराज पन्तका गणित ज्योतिषसम्बन्धी केही महत्वपूर्ण फुटकर रचनाहरूलाई गतसाल नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गर्यो ।
प्रस्तुत पुस्तकमा रहेका फुटकर रचनाहरूको सङ्कलन र सम्पादन एवम् नयराज पन्तद्वारा संस्कृतमा लेखिएका केही विषयहरूको अनुवाद समेत नेपाल संस्कृत विश्वविद्यालयमा कार्यरत सिद्धान्त ज्योतिष विषयका उपप्राध्यापक श्याम खनालले गर्नुभएको हो । प्रस्तुत पुस्तकको प्रकाशनका सम्बन्धमा सम्पादकज्यूले उहाँकै भाषामा विभिन्न कारणहरू प्रस्तुत गर्नुभएको छ ।
उहाँले “संस्कृत शिक्षा भनेको मात्र कर्मकाण्ड एवम् ज्यौतिष भनेको त त्यही चिना टिपन, रत्नधारण र फलादेश मात्र हो भन्ने कुराले जनमानसमा गहिरो प्रभाव पारेको छ । यस कुरालाई बुझाउनको लागि पनि नयराज पन्तका लेख रचनाहरूको अध्ययन गर्नुपर्ने देखिएको छ ।
तब मात्र यी लेख–रचनाका अध्ययनबाट संस्कृत एवम् ज्योतिषको वास्तविक अर्थ खुल्न जाने हुनाले प्रस्तुत पुस्तकको रचना गरिएको व्यहोरा प्रस्तुत गर्नुभएको छ । त्यस्तै पुस्तक रचनाकै कारण प्रस्तुत गर्दै सम्पादकज्यूले “भारतमा धेरै समयदेखि चलिरहेको सायनवादी भनाउँदाहरूको कोलाहल नेपालमा पनि भित्रिएको थियो ।
त्यस समयमा ‘सायनको विरोधी निरयण नभएको र सायन र निरयण दुवै पद्धति हामीले अङ्गालेको’ कुराको सप्रमाण विभिन्न पत्र–पत्रिकाहरूमा छपाउनुभएको थियो । यसले गर्दा विषयवस्तु नै नबुझी सायन सायन भन्ने मानिसहरू त्यो समयमा लत्रक्क पर्न पुगेका थिए ।
त्यस किसिमको अवस्था अहिले पनि विद्यमान छ । आफ्ना पञ्चाङ्ग पनि छाप्न नसक्ने, शास्त्रीय गहिरो कुरो बुझ्न पनि नसकी उल्टापाल्टा कुरा गरी उही पटमूर्खहरूका माझमा प्रसिद्ध हुन खोज्नेहरूका लागि पनि यो पुस्तकले मार्गनिर्देशन अवश्य गर्नेछ ।
अर्थात् गणिताध्याय, गोलाध्याय त कता हो कता, लीलावतीको मङ्गलाचरणको पनि गतिलोसँग अर्थ गर्न नसक्नेले चलाएको पञ्चाङ्गको कोलाहलको उत्तर नयराज पन्तका लेख रचनाहरूले दिने हुँदा ती लेख–रचनाहरूको सङ्ग्रहरूप प्रस्तुत ग्रन्थ बनाउनु परेको हो” भन्ने कुराको पनि उल्लेख गर्नुभएको छ ।
यही प्रसङ्गमै उहाँले अगाडि लेख्नुहुन्छ –“भारतमा सुधाकरजस्ता विद्वान् पनि थिबोको पछि लागेर थिबोले भन्ने गरेका ‘सिद्धान्तज्योतिष त हिन्दुहरूले ग्रिकबाट सुटुक्क सारेर ल्याएका हुन्, जसलाई उनीहरूले ईश्वरको कृपाको रूपमा व्याख्या गर्दछन् ।
यो सिद्धान्त उनीहरूको मौलिक सिद्धान्त होइन’ भन्ने कुरामा हँ मा हँ मिलाउँदै हिँड्ने गरेका थिए । त्यस कुराको नयराज पन्तले सप्रमाण खण्डन गरी यस्तो आरोपबाट ज्यौतिषशास्त्रलाई बचाउनुभएको थियो । त्यस्ता किसिमका अमूल्य पुस्तकहरू नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशनमा ल्याएको छ । नेपालमा उहाँ जीवित रहँदासम्म यो कुरा गर्ने कसैको आँट थिएन ।
तर उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्तज्यौतिष हामी हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्गज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वानहरूको एउटा समूह नै छ । उहाँहरूको विद्वत्तामा केही प्रश्न उठाइएको पक्कै होइन । संस्कृत भाषाको रक्षार्थ उहाँहरू अहोरात्र लागिपरेकै हुनुहुन्छ । तर सिद्धान्त ज्योतिषसम्बन्धी उहाँहरूको धारणा गलत छ ।
वेदाङ्ग ज्योतिषसम्बन्धी लेख रचना तयार गर्ने नयराज पन्त वेदाङ्ग ज्योतिषको पक्षमा किन रहनुभएन त ? यहाँ विचारणीय विषय छ । त्यसैले ज्योतिषको गुह्य तत्त्व नबुझेका व्यक्तिहरू एवम्, नबुझिकनै होहल्लामा लाग्नेहरू पनि नयराज पन्तका लेख–रचनाहरू अध्ययन गर्नुभई शङ्कारहित हुनुहुनेछ भनी यो ग्रन्थ तयार पारिएको हो ।
अर्को कुरा सिद्धान्त ज्योतिषसम्बन्धी अध्ययन, अध्यापन एवम् अनुसन्धान गर्ने प्राध्यापक र विद्यार्थीहरूलाई पनि उहाँका लेख–रचना खोज्न गाह्रो हुने देखियो । पुराना पत्रिकाहरू धमिराले खाइसके । प्रायः पुस्तकालयहरूमा ती सामग्रीहरू अप्राप्य नै हुन थाले । त्यस्तै लेख–रचना पुराना हुँदै जाँदा कालान्तरमा चोरी गरी व्यक्तिले आफ्ना नाममा प्रकाशित गर्न सक्ने अवस्था पनि हुने देखियो ।
त्यसैले सिद्धान्त ज्योतिषको अनुसन्धानका लागि अत्यन्त उपयोगी रचनाहरू पुस्तकाकारमा प्रकाशित हुँदा शोधार्थीहरूलाई पनि सजिलो हुने र सुरक्षित पनि हुने देखिएकाले प्रस्तुत ग्रन्थको जन्म हुन पुगेको हो ।
त्यस्तै ज्योतिषशास्त्रको सामान्य अध्ययनको भरमा नाम अगाडि ज्यो.पं. राखेर ‘गणिकागणकौ समानधर्मौ’ भन्ने पद्यांशलाई सार्थक तुल्याउन अनवरत लागिपरेका भास्कराचार्यको शब्दमा भन्नुपर्दा ती नामधारी ज्योतिषीहरूले ज्योतिर्विद् हुन कति अध्ययनको आवश्यकता पर्दछ भन्ने कुराको ज्ञान पनि प्रस्तुत ग्रन्थबाट पक्कै हासिल गर्नुहुनेछ ।
फलसम्बन्धी सतही वकालत गरेर मानिसहरूबाट पैसा बटुल्नेलाई मात्र ज्योतिषी भनेर चिनेका विषयान्तरका विद्वान्हरूले पनि नयराज पन्तका लेखको अध्ययनबाट ज्योतिषको प्रमुख हाँगो सिद्धान्तको बारेमा गहिरो ज्ञान हासिल गर्न सक्ने हुनेछन् ।
त्यस्तै कनीकुथीका आधारमा दुई चारओटा अनर्थकारी लेख लेखेका भरमा र व्यापारीहरूका प्रचार–सामग्री सम्पादन गरेका आधारमा आफूलाई आफैँ विद्वान् सम्झी भुइँ न भाँडामा भएका महानुभावहरूले पनि नयराज पन्तका लेख–रचनाको अध्ययनबाट विद्वान् कसलाई भन्दा रहेछन लेख–रचना कस्ता हुनुपर्दो रहेछ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्नुहुनेछ” ।
अन्त्यमा उहाँले “नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री एवम् आचार्यका पाठ्यक्रममा राखिएका अधिकांश विषयहरू यहाँ परेका हुनाले प्रस्तुत ग्रन्थ शास्त्री एवम् आचार्य तहका लागि सहायक पाठ्यसामग्रीको रूपमा अत्यन्तै उपयोगी हुने देखिन्छ ।
त्यस्तै गणित र ज्योतिषसँग सम्बन्धित भएर विद्यावारिधि आदि अनुसन्धान गराउन चाहने जुनसुकै विश्वविद्यालयलाई पनि यो ग्रन्थ अत्यन्त लाभदायक हुने नै छ” भन्ने कुराको उल्लेख गरी ग्रन्थको प्रयोजन सिद्ध गर्नुभएको छ । प्रस्तुत पुस्तक ४३६ पृष्ठको भएतापनि मुख्य विषयवस्तु ४१४ पृष्ठमै समेटिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका तात्कालिक कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ्कको छोटा मन्तव्य समेटिएको प्रस्तुत पुस्तकमा विभागीय मन्तव्य प्रा. जगत्प्रसाद उपाध्यायले दिनुभएको छ भने सङ्कलक तथा सम्पादक श्याम खनालले सम्पादकीयका माध्यमले पुस्तकको प्रयोजन, पुस्तक भित्रका विषयवस्तुहरू एवम् पुस्तकसँग सम्बन्धित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यसपछि प्रस्तुत पुस्तकको गुह्य तत्त्वको सुरुवात भएको छ ।
जम्मा ३६ ओटा नयराज पन्तद्वारा लिखित गणितज्योतिष सम्बन्धित लेखहरू रहेको प्रस्तुत पुस्तकमा पहिलो लेख कमलाकर भन्ने शीर्षकमा छ । विक्रमको १८ औँ शताब्दीका ज्योतिषी कमलाकरको परिचय र वैशिष्ट्य रहेको प्रस्तुत लेखपछि दोस्रो लेख १२ औँ शताब्दीका ज्योतिषी भास्कराचार्यले लेखेका गणितका कुरा र युरोपको गणितमा रहेका कुराको समानता प्रस्तुत गर्दै हाम्रा आविष्कारहरू कसरी युरोपमा पुगे भन्ने कुराको चर्चा गरिएको छ ।
त्यस्तै पुस्तकमा रहेका सबै कुरा महत्वपूर्ण नै रहेतापनि यसभित्रका चलनकलनको केही भाग वेदमा अहोरात्रवृत्तको वर्णन, दृग्गणितको पञ्चाङ्ग तयार गर्ने बाटो, वैशाख आदि महिनाको शास्त्रीय वैज्ञानिक विश्लेषण, वारको व्यवस्था, भदौमा सोह्र श्राद्ध कार्तिकमा दसैँ, नयाँ पञ्चाङ्ग चलाउन खोज्नेका लागि सुझाव आदि लेखहरू सामान्य गणित र ज्योतिष जानेका पाठकहरूले पनि राम्ररी सम्झन सक्ने विषय भएका शीर्षकहरू हुन् ।
यस बाहेकका शुल्बसूत्र, रेखागणित, चलनकलन, त्रिकोणमिति, सूर्यग्रहण कारिका आदिका विषयवस्तुहरू गणितीय क्षेत्रका अनुसन्धानात्मक गहिरा लेखहरू हुन् । जुन लेखहरूका माध्यमले अनुसन्धाताहरूले सयौँ पिएच्डी गर्न सक्ने विषयले युक्त भएका प्राज्ञिक लेखहरू हुन् ।
समग्रमा पुस्तक गणित एवम् ज्योतिषको क्षेत्रमा रुचि राख्नेहरूका लागि मात्र नभएर अरू विषयमा रुचि राख्नेहरूका लागि पनि संग्रहको विषय बनेको छ । यो पुस्तकमा समेटिएका विषयहरूबाट हजारौँ पृष्ठका विस्तृति सहितका अनुसन्धानहरू हुन सक्ने देखिएका छन् ।
सम्पादकज्यूले भने अनुसार नै नयराज पन्तका यस किसिमका बौद्धिक एवम् अनुसन्धानमूलक लेख–रचनाले युक्त पुस्तक एवम् पुस्तकभित्रका विषय त नेपाल संस्कृत विश्वविद्यालय जस्तो प्राचीन विषयहरूको अध्ययन/अनुसन्धान गर्ने उद्देश्यले स्थापित संस्थाले त तुरुन्त आफ्नो पाठ्यक्रममा समावेश गरी नेपाल आमाका सपुत नयराज पन्तका विषयलाई अनुसन्धान गराई देश विदेशमा प्रचार प्रसार गर्नुपर्ने देखिएको छ ।
अतः यस किसिमको महत्वपूर्ण प्रकाशन गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठान परिवार एवम् सम्पादकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो जीवन सार्थक बनाउनुभएका नयराज पन्तमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।