Butwal Today

नेपालगन्ज नजिकको धार्मिक–पर्यटन गन्तव्य:  सन्तानेश्वरको आकर्षण बढ्दो

२६ श्रावण २०८२, सोमबार
अ+
अ-

नेपालगन्ज, २६ साउन ।

बाँकेको नरैनपुर गाउँपालिकामा पर्ने चुरे पहाडमा अवस्थित सन्तनेश्वर मन्दिरमा दिन प्रतिदिन भक्तजनहरूको उपस्थिति बढ्दै गएको छ । करिब ४ वर्षदेखि चर्चामा आएको यो मन्दिरमा अहिले विशेष गरी हाइकिङ गर्नेहरू, शिवभक्त महिला र धार्मिक पर्यटकहरूको उल्लेख्य उपस्थित देखिएको हो ।

हरियो साउनमा विशेष गरी सोमवारको दिन शिवभक्त महिलाको यहाँ अत्यधिक भीड लाग्ने गर्दछ । साउन महिनामा मात्र होइन, वर्षभरि नै नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनको आवागमन हुने गर्छ । नरैनापुर ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यका अनुसार सोमवार र शनिवार बढी भक्तजनहरू आउने गरेका छन् ।

वडा अध्यक्ष मौर्य भन्छन्, ‘‘साउनको प्रत्येक सोमवार दुई हजार बढी भक्तजनहरू हुन्छन्, आज अन्तिम सोमवार दोब्र बढी भिड देखिएको छ ।’’ नेपालगन्जदेखि पूर्व हुलाकी सडक हुँदै २५ किलोमिटरको यात्रा पार गरेपछि नरैनापुर पुगिन्छ । त्यहाँबाट करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो मोटरसाइकलमा पार गर्नुपर्छ, अनि दुई किलोमिटर उकालो पैदल यात्रा गरेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुगिन्छ ।

सोही चुरे पहाडको टाकुरोमा यसअघि  विसं. १९३५ मै झन्डा गाडिएको बताई एपनि २०७० सालमा मात्र मन्दिर स्थापना गरेको मन्दिरका पुजारी बताउँछन् । यस मन्दिरमा पुग्दा श्रद्धा र प्राकृतिक सौन्दर्य दुवैको अनुभूति हुन्छ । मन्दिरको संरक्षणमा सक्रिय बाबा योगानन्द गिरी भन्छन्, “सन्तानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि भाकल गर्नेहरू सफल हुने धार्मिक विश्वास छ ।

यहाँ ‘ओम आकार’को पहाडमुनिबाट गङ्गा, जमुना र सरस्वती प्रवाहित भएको मान्यता छ, जसले यसलाई पुण्य भूमिको दर्जा दिएको छ ।” गिरीका अनुसार पूर्व, पश्चिम र दक्षिण दिशाबाट तीन धाराहरू प्रवाहित हुने हुँदा मन्दिरको आध्यात्मिक महत्त्व अझ बढेको छ । उनका अनुसार बर्सेनि भक्तजनको चाप बढिरहेको छ, तर पूर्वाधारको अभावले समस्या पनि उत्तिकै छ ।

हाल प्रदेश सरकारको सहयोगमा मन्दिर परिसरमा सौर्य बत्तीको व्यवस्था गरिएको छ भने अन्य आधारभूत पूर्वाधार निर्माणको कार्य पनि क्रमशः अघि बढिरहेको छ । आश्रम, विश्राम स्थल, खानेपानी, र सडक पहुँच अझै व्यवस्थित नहुँदा दर्शनार्थीले केही कठिनाइ खेप्नुपरेको गिरी बताउँछन् ।

नेपालगन्जबाट पुगेकी दर्शनार्थी जमुना बुढा भन्छिन्, “चुरे हाइकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नु एक अनुपम अनुभव हो । तर यहाँको बाटो अझ सहज भए अझ धेरै श्रद्धालु र पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”

कोहला गाउँबाट अढाई घण्टाको जङ्गल र पहाडी बाटो छिचोल्दै मानिसहरू मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । छिमेकी जिल्ला बर्दियाका स्थानीय बासिन्दाहरु समेत सन्तानेश्वर मन्दिरमा गएपछि मात्र पहिलो पटक पहाड चढ्न पाएको अनुभव सुनाउँछन् ।

बर्दिया गुलरियाका शङ्कर यादव भन्छन्, ‘‘तराईमा पनि यति ठुलो पहाड चढ्ने अवसर मिल्यो, साथै पहाडको चुचुरोमा पुगेर मन्दिर दर्शन गर्न पाइयो ।’’ सार्वजनिक बिदाका दिन मन्दिरमा भक्तजनको भीड अत्यधिक हुने गर्छ । शान्त वातावरण, हरियाली र आस्थाको सङ्गम भएको यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सके यसले आर्थिक, सांस्कृतिक र आध्यात्मिक मूल्य थप्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?