© २०२३
लमही, २७ साउन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब गुणस्तरीय उपचारसँगै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने प्राज्ञिक केन्द्रका रूपमा विकसित भएको छ। साविक राप्ती अञ्चलका हजारौँ नागरिकको दशकौँदेखिको उपचार गन्तव्यका रूपमा स्थापित यो संस्था अहिले डाक्टर पढाउने थलोसमेत बनेको हो।
दाङको घोराहीमा अवस्थित यो अस्पतालले वर्षौँदेखि औषधि–उपचारमा सेवा दिँदै आएको छ। कुनै समय राप्ती अञ्चलको एक मात्र रेफरल अस्पताल रहँदै आएको यस संस्थामा हाल विएनएस, बिएस्सी नर्सिङ, एमडी, एमएस तथा एमबीबीएस पढाइ हुँदै आएको छ। अहिले एमबीबीएसमा ५० विद्यार्थी अध्ययनरत छन्। रजिष्ट्रार प्रा. श्याम लम्सालका अनुसार लामो प्रयासपछि प्रतिष्ठानले एमबीबीएस पढाउन अनुमति पाएको हो।
स्वास्थ्य सेवामा विस्तार गर्दै प्रतिष्ठानले हाल ४५ जना थप मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकहरू नियुक्त गरेको छ। निकट भविष्यमा न्युरो र मुटु रोग उपचार सुरु गर्ने योजना छ। नेपाल सरकारले यसका लागि १४ करोड रुपैयाँको बजेट उपलब्ध गराएको छ, जसअन्तर्गत १० करोडको लागतमा क्याथ ल्याब खरिद भइसकेको छ। भदौदेखि मुटुरोग, चालू आर्थिक वर्षको अन्त्यसम्ममा क्यान्सर उपचार सुरु गर्ने तयारी भइरहेको लम्सालले बताए।
२०११ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भई ०४६ सालको आन्दोलनपछि प्रतिष्ठानको रूप लिएको यो संस्थालाई सरकारले स्वायत्त अधिकार दिएको छ। चालू आर्थिक वर्षमा ४ सय शैयाको अस्पताल निर्माणका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको छ। लम्सालका अनुसार यसले दाङको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
स्वास्थ्य बीमा सेवासँग सम्बन्धित समस्या उल्लेख गर्दै उनले बीमा बोर्डबाट १४ करोड रुपैयाँ भुक्तानी रोकिएपछि केही सेवामा चुनौती आएको बताए। तर भदौदेखि पुनः सेवा सञ्चालन हुने तयारी भइरहेको उनले जनाए। प्रतिष्ठानले बीएमएलटी, बीएमआईटी, बीपीएच र आँखा विषयमा स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगमा प्रस्ताव पेस गरेको छ।
उपकुलपति डा. विकास लामीछानेका अनुसार प्रतिष्ठान शिक्षा, स्वास्थ्य, अनुसन्धान र सेवामा सन्तुलित रूपमा अघि बढिरहेको छ। उनले एमबीबीएस शिक्षा सञ्चालन हुनु दाङ र लुम्बिनी प्रदेशका लागि गौरवको विषय भएको बताए। प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ।
हालसम्म अस्पतालमा डर्माटोलोजी, ईएनटी, न्युरो सर्जरी जस्ता केही सेवाको अभाव भए पनि हाल ती सबै सुरु भइसकेका छन्। मानसिक रोग उपचार पनि सञ्चालनमा आएको छ, जसका कारण अब प्रतिष्ठानमा स्वास्थ्य सेवाको कुनै अभाव छैन।
एमडी र एमएस कार्यक्रम सञ्चालनसँगै आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) २४ सैँ घण्टा अस्पतालमा रहने व्यवस्था गरिएको छ। यसले ओपीडी, इमर्जेन्सी, आइसियु लगायत सबै क्षेत्रमा विशेषज्ञको निरन्तर निगरानी सुनिश्चित गर्नेछ। रजिष्ट्रार लम्सालका अनुसार अनुभवी प्राध्यापकबाट प्रत्यक्ष पढ्ने अवसर पाउँदा विद्यार्थी उत्साहित छन्।
आवासीय चिकित्सकले सेवामा छरितोपना ल्याउने, जनशक्ति अभाव नहुने, अस्पतालको आर्थिक भार कम गर्ने र बिरामीलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा छ। उनीहरूलाई चिकित्सा शिक्षा आयोगमार्फत आठौँ तह बराबरको तलब सुविधा प्रदान गरिनेछ। पूर्ण छात्रवृत्तिमा अध्ययनरत यी चिकित्सकलाई अस्पतालमा अभ्याससहितको अध्ययनको मौका मिल्नेछ।
यसरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब केवल उपचार केन्द्र मात्र नभई दाङमै डाक्टर उत्पादन गर्ने महत्त्वपूर्ण प्राज्ञिक थलोका रूपमा स्थापित भएको छ।