काठमाडौँ ।
गृह मन्त्रालयले तोकिएको स्थानमा हाजिर नभएका १४ जना कर्मचारीको हाजिरी काटेको छ। साउन १५ गते २४ घण्टे समयसीमा तोकेर पठाइएको पत्रको अवज्ञा गरेपछि मन्त्रालयले रजिस्टर र ई-हाजिरी दुवै काट्ने निर्णय लिएको हो ।

कर्मचारी प्रशासन महाशाखाका अनुसार एक महिनासम्म सरुवा गरिएको ठाउँमा नपुगेका २३ कर्मचारीमध्ये ८ जना मात्र सम्बन्धित कार्यालयमा हाजिर भएका थिए। बाँकी १५ जनामध्ये १४ को हाजिरी काटिएको छ भने एकको अवस्थाबारे जानकारी खुलाइएको छैन ।
यसअघि गृह मन्त्रालयले असार १६, असार १८, साउन ७ र साउन १८ गते गरी क्रमशः १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बालाई नयाँ ठाउँमा सरुवा गरेको थियो। तर तोकिएको स्थानमा जान आलटाल गरेपछि मन्त्रालयले साउन १६ गते आफ्नो वेब पोर्टलमार्फत २४ घण्टे उर्दी जारी गरेको थियो ।
सरुवा स्थलमा समयमै हाजिर भएका शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे रहेका छन् । तीमध्ये सात जना शाखा अधिकृत र एक जना नायब सुब्बाले मात्र निर्देशन पालना गरेका थिए ।
मन्त्रालयले अब बाँकी कर्मचारीहरूमाथि प्रशासनिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आदेशको अवज्ञा गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै मन्त्रालयले यस्ता गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाउने संकेत दिएको छ ।





