© २०२३
विश्वमा मानव सभ्यताको विकास आरम्भ भएसँगै बसाइसराइ पनि सुरु भएको इतिहास छ । त्यस क्रममा आफ्नो पहिचान र अस्तित्वलाई स्थापित गर्नु हरेक मानवको मानवीय गुण हो । समयक्रमसंगै बढ्दो बसाइसराइले आदिवासी समुदाय पछाडि प¥यो । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् ।
चिन्ताको कुरा के छ भने पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ । बढ्दो बसाइसराइ गर्ने आदिवासीहरूको पेसा र पहिचान जहाँबाट स¥यो त्यही छोड्ने परम्परा नै बस्यो । यद्यपि अहिले त्यसमा धेरै परिवर्तन आएको छ ।
आदिवासीहरूको त्यही लोप हुँदै गएको संस्कृति र परम्परा संरक्षण गर्ने भन्दै विश्व आदिवासी दिवस औपचारिक रूपमै मनाउन थालिएको छ । हरेक वर्ष ९ अगस्त अर्थात् विश्व आदिवासी दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा सहित मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरिए अनुसार विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाइरहँदा मूल आदिवासीहरू अहिले पनि अपहेलित जीवन बिताउन बाध्य भएका छन् । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन् ।
राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सीमान्तकृत जीवन बिताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्रसङ्घले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । उनीहरूको जीवन अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भइरहेको बेला सरकारी स्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भइरहेका छन् । खास गरी तल्लो स्तरमा जीवन बिताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्त्वपूर्ण सवाल र चुनौती पनि हो ।
आदिवासीहरू अहिले पछाडि परेको भए पनि उनीहरूको इतिहास जीवन्त छ । आदिवासीले नै विश्वको ढुंगे युगको नेतृत्व गरे । त्यो ऐतिहासिक क्षण थियो । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ । नेपालको मात्र होइन विश्वका आदिवासीले इतिहास बनाएका छन् । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर समय परिस्थिति त्यो अनुसार चल्ने सकेन् ।
उनीहरूले पनि आफूहरूलाई सोही अनुसारको विकासमा रूपान्तरण र परिवर्तन गर्न सकेनन् । यद्यपि नेपालको अवस्था भने भिन्न छ । नेपालका आदिवासीहरू अधिकांश राज्यको पहुँचभन्दा टाढा छैनन् । उनीहरूले राज्यका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । देशको रक्षामात्रै होइन विदेशको रक्षाको नेतृत्व पनि उनीहरूले गरेका छन । उनीहरूको हैसियत बढेको छ । भारत, बेलायत र सिंगापुर पुलिस तथा सेनामा भर्ती भएर उनीहरूले ती देशको सेवा रक्षा गरेका छन् ।
राष्ट्रियताको सवालमा उनीहरूको योगदान महत्त्वपूर्ण छ । यद्यपी दूर दराजमा बस्ने आदिवासीको अवस्था भने नेपालमा पनि कमजोर छ । नेपालका सीमान्तकृत आदिवासीको जीवनस्तर कमजोर छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ । शिक्षा र स्वास्थ्यमा पहुँच नहुँदा उनीहरूको जीवन परिवर्तन हुन सकेको छैन ।
तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । अझै धेरै काम हुन बाँकी छ । अवको दिनमा सीमान्तकृत आदिवासीको राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो ।
अवको दिनमा आफ्नो पहिचानका लागि पुस्तौँदेखि संघर्ष गर्दै आएका आदिवासी समुदायको पहिचानलाई विकासको मूलधारमा जोडनु पर्ने आवश्यकता छ । विश्व आदिवासी दिवस मनाइरहँदा अधिकार, पहिचान र सुरक्षाको सवालमा स्वयं आदिवासी समुदाय एकताबद्ध र सुदृढ भएर लाग्नु जरुरी छ ।