© २०२३
बुटवल ।
खाली दिमाग सैतानका घर भन्छन् । यसो सोंच्दा होकि जस्तो पनि लाग्यो । भन्नुहोला यसले कुन अवकाश प्राप्त व्यक्तिका गथासा वक्न थाल्यो । त्यो पटक्कै हैन । खाली दिमाग हुन रिटायर हुन पर्दैन । थकित मानसिकता नै खाली दिमाग हो ।
यो कुरा बेला मौकामा विभिन्न मन्त्रालयबाट मस्यौदा गरिने ऐन कानुनका मस्यौदाले प्रमाणित गर्छ भनी अहिले बहुविवाह त्यस्तै सैतानका घरबाट उब्जेको मस्यौदा हो भन्दा रहेछन् धेरै रैथाने मनस्थितिका मान्छेहरूले । गलित मनस्थितिका मान्छेहरू !
हाम्रो प्राचीन इतिहासमा बहुविवाहको सन्दर्भ कस्तो छ भन्ने हेर्दा बडो रमाइलो देखापर्छ । बुबा दशरथका ३ वटी श्रीमती भएर सौतेलो मामलोको झगडाले आफू वन लखेटिनु परेकोले भगवान् श्रीरामलाई बहुविवाहतिर वितृष्णा जाग्यो ।
उनले सीता हरण हुँदा होस् वा वनमा जाँदा होस् एक्लै जीवन बिताए । अर्को विवाहको उच्चारण सम्म पनि गरेनन् । लक्ष्मणले त त्यत्रो चौध वर्ष एक्लै हुने अवस्थामा अधिराजकुमारी सुर्पनखाले बिहा गर्न खोज्दासमेत मानेनन् । उनलाई पनि बहुविवाहप्रति घृणा नै रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।
दुईटी स्वास्नीको पोइ कुना बसी रोइ भन्ने उखान दशरथको जीवनमा मेल खान खोज्छ । तर त्यस बेला परशुरामले २१ पटक क्षेत्री शून्य पार्छु भनेर क्षेत्री नास्दै पृथ्वी डुल्दा क्षेत्री केटा कम भएर बहुविवाह सामाजिक आवश्यकता पो थियो कि ? भगवान् जाने ।
एका नारी ब्रह्मचारी भन्ने सूत्रले जीवनभरि ब्रह्मचारी हुने भइयो । अनि बहुविवाह नगरी गृहस्थाश्रमसम्म पनि पूरा नहुने देखायो । जब गृहस्थाश्रमको पूर्ण रागमा नचोपलिइकन कसरी वैराग्यको उदय हुन्छ र ? वास्तवमा बहुविवाह नगरी मुक्तिको ढोकै नखोलिने देखियो भने बहुविवाह कानुनको विरोध गर्नु भनेको अलिखित संविधानको मौलिक हक हनन गरे सरह बात लाग्छ ।
आजसम्म कानुनी दस्तावेजमा प्रयोग हुँदै आएका शब्द, शब्दावली निकै घोचक, कर्णकटु, आदेशात्मक र रुखा हुने गरेको तथ्य सबै सामु जगजाहेर छ । तर यो बहुविवाहका सन्दर्भमा प्रयोग भएका सम्बन्ध विस्तार जस्ता कर्णप्रिय शब्दावलीको प्रयोग गरेर कानुन मन्त्रालयले कानुनी भाषामा नौलो आयाम थपेको छ । यसले बहुविवाहवादीको मात्रै हैन विपक्षीको पनि हृदय द्रविभूत भएको छ ।
आजभोलिको जमाना आगै छूत पानी छूतको जमाना हैन । यो जमाना त लिभिङ टुगेदरको जमाना हो । लिभिङ टुगेदरबाट विस्तार भएको सम्बन्धले स्त्रीको पेट विस्तार भएपछि मात्रै विवाहको कुरा गर्ने भनिएको छ । राणाकालमा झैँ लौ तिनीहरू सँगै बसेको प्रमाणित भयो ।
हामीलाई पनि भात पानीमा बोरे अर्थात् लसपस गरे भनेर अधिकारप्राप्त तालुकदारसित पतीय पूर्जी लिएर रुद्रिसहितको पतीय यज्ञ गरेर भात पानी चलाउने जमाना हो र ? पश्चिमा देशका परिवारमा हर चिल्ड्रेन, माइ चिल्ड्रेन एन्ड आवर चिल्ड्रेन आर क्वेरलिङ्ग अर्थात् उनका छोराछोरी, मेरा छोराछोरी र हाम्रा छोराछोरी झगडा गरिरहेका छन् भन्ने जस्ता कुरालाई हामीले सिको गर्नुपर्दैन र के ? अनि पश्चिमाको अन्धानुकरण नगरी कसरी अग्रगामी भइन्छ ?
बहुविवाहका अनगिन्ति फाइदा छन् । अहिले नेपाली युवा चाहे पुरुष वा महिला जसरी भए पनि विदेशिने एक स्थापित संस्कार नै बनेको छ । एकल विवाह मात्रै हुँदा ऊ र म एउटै त हो नि भन्ने भावनामा बगिन्छ ।
अनि घर घडेरी धन सम्पत्ति पत्नीका नाममा गर्न कुनै शङ्का गरिँदैन । यसरी भर परेर विदेश जाने र विदेशबाट आउँदा श्रीमतीजीले अरू कसैसित सम्बन्ध विस्तार गरेर आफू पाटीको वास हुन परेको घटना थुप्रै छन् ।
बहुविवाह गरेको वा गर्ने हैसियतको नियत भएमा यसरी भरमा परेर अलपत्र हुने अवस्था हुनेछैन । त्यसै गरी महिला पनि विदेश गएर पैसा पठाउली र रजगज गरौँला भन्ने आशामा बसेको पुरुषले उतै पाठापाठी कमाएको देखेर सुनेर थाप्लो ठोक्नु पनि पर्दैन । विकल्पको सोच भयो भने सबैले आआफ्नै हिसाबले काम गरिन्छ । एक्कासि झड्का लाग्दैन ।
हाम्रो देशमा युवा कसरी स्वदेशमै टिकाउने भन्ने बडो ठूलो चुनौती छ । भोलिका दिनमा बहुविवाह जस्तो अत्याधुनिक सामाजिक सम्बन्ध विस्तारको चलन नभएको देशमा को बस्छ ? भनेर युवा अझै विदेशिए भने रुख पाटी, घाम पाटी त जेनतेन बूढाखाडाले धान्लान् तर चोकचोकमा चिचिलामिचिलाका नाम फोन टिपेर आफ्ना गनौटा सम्झेर रमाउने हस्ताक्षर पाटीको हालत के होला ? यस्तो कुरामा अलि संवेदनशील हुनुपर्दैन र ?
राजनीतिमा वैवाहिक सम्बन्ध विस्तारको कति महत्त्व हुन्छ भन्ने कुरा राजनीतिका बाह्रखरी खारेकाले तुरुन्तै थाहापाइहाल्छन् । भृकुटीलाई तिब्बती राजासित विवाह गरिदिएर, पाल्पाली राजकुमारी कौशल्यावती, खँचेली राजकुमारी चन्द्रप्रभावतीलाई गोरखाका राजा नरभूपाल शाहसित विवाह गरिदिएर गोरखालीको शक्तिको दबदबा हुँदा पनि पाल्पा र खाँची राज्य ढुक्कसित बसेको इतिहास कसले बुझेको छैन र ?
त्यसैले बहुविवाह भनेको बहुसम्बन्ध विस्तार हो भन्ने कुरा स्पष्टै छ । बहुविवाहको प्राथमिक चरण सम्बन्ध विस्तारको चरण कति सुन्दर शब्दावली ? यस चरणमा प्रवेश गर्दैमा विवाह नै गर्नुपर्छ भन्ने के छ र ? यस चरणले कतिपय बाँझा पुरुषहरूको पुरुषत्व औपचारिक हिसाबले पुनर्जागरण हुने स्वर्णिम अवसर पनि सिर्जना हुनसक्छ ।
भलै भोलि कागका गुँडमा कोइली हुर्के पनि सम्पत्ति खाने र तर्पणपानीको जोहो सजिलै भयो भने पनि त भैहाल्यो नि । फेरि बहुविवाहको दोस्रो चरण सुरु हुने भनेको सम्बन्ध विस्तारित व्यक्तिमा गर्भ रहेर निजका पुरुषले गर्भ अस्वीकार गरेको अवस्थामा मात्रै हो । त्यसैले महिलालाई यो अवैध भुँडी कसरी तह लगाउने भन्ने चिन्तै भएन ।
माने पहिलो नमाने दोस्रो छँदैछ । त्यै विस्तारा फेरिने मात्रै त हो । पुरुषका लागि पनि लागे लाग्ला मोहनी नत्र घरै छन् दशोटी भन्ने जस्तै निर्धक्कको वातावरण ! अहिले स्त्री भ्रुण हत्याका कारण संसारमा स्त्रीहरूको सङ्ख्या घट्दो क्रममा छ । त्यसैले पुराना जमानामा जस्तो बहुविवाह भन्नाले एक जान पुरुषले दुई वा सोभन्दा बढी श्रीमती राख्न पाउने भन्ने मात्र हुने छैन ।
लैङ्गिक समताका हिसाबले पनि स्त्रीले बहुपति राख्न पाउने व्यवस्था यो कानुनमा अवश्यै हुने छ । यसो हुँदा अल्लमल्ल गोत्र आमा यौटी बाउ सत्र भने जस्तो अवश्यै हुन्छ । यस्तो अवस्था पर्दा के गर्ने होला ? भन्ने प्रश्नको जवाफ पनि अहिले नै निक्र्योल गर्नुपर्छ ।
बहुविवाह प्रथाले कोही पनि विधुर र विधवा भएर निरीह जीवन बिताउनुपर्नेछैन । पति शोक र पत्नी शोकले कोही थलिनुपर्ने छैन । खाईसार कि लाईसार मरेपछि लम्पसारको एक सन्त जीवन जीउन सहयोग पुग्ने छ । होली वाइन र यौन पर्यटनको संसदीय छलफलको पृष्ठभूमिमा आएको यो कानुनलाई असामयिक भन्नेहरू समयको प्रवाह नबुझ्ने पद्दू हुन् काम नलाग्ने पत्रु हुन् भन्न हिच्किचाउनुपर्दैन ।
जति लामो डोरी बाटे पनि गाँठो यौटै भने झैँ बहुविवाह यौन जीवन व्यवस्थापनको मुख्य कडी हो । यौन क्रियाकलाप शारीरिक ऊर्जा स्खलनको माध्यम हो । व्यक्तिमा रहेको जीवनदायिनी कुण्डलिनी ऊर्जाले जीवन सञ्चालनका लागि प्रेरित गरिरहेको हुन्छ ।
व्यायाम, योग, ध्यानले यो ऊर्जा उध्र्वगामी हुन्छ र उत्तम भाव, उत्तम वाणी, उत्तम सङ्कल्प, उत्तम चित्तवृत्ति र उत्तम चिन्तनको जागरण हुन्छ । नयाँ नयाँ सोच नयाँ नयाँ अनुसन्धान आविष्कार उध्र्वगामी ऊर्जाबाट हुन्छ । तर योग ध्यान सत्सङ्ग परिश्रम नगरी नकारात्मक भावका तरङ्ग खेलाएर बस्नेका लागि कुण्डलिनी ऊर्जा अधोगामी बन्छ र यौन विकृतिका क्रियाकलापबाट स्खलित भएर सिद्धिन्छ ।
कलह झगडा गालीगलौजमा रूपान्तरण भएर सिद्धिन्छ । आखिर ऊर्जा निरन्तर वहने वस्तु हो । यो कहिल्यै रोकिदैन । व्यायाम योग ध्यान गर्ने लठारामा लागेर सिर्जनशील हुनुभन्दा बहुविवाहमा रमाउनु धेरै सजिलो छ । किनकि यसमा कुनै समय व्यवस्थापन अनुशासनको पालना केही गर्नुपर्दैन ।
बर्ताएका गाईका पछि दमालिएका साँढेहरूको स्वच्छन्द जीवन देखेर रमाउन जस्तो आनन्द अरू केमा छ र ? त्यसैले म पनि एक चित्तले बहुविवाहका पक्षमा लागेको छु । तपाईँहरूले पनि समयको माग बुझ्नुहोला । कानुन मन्त्रालयलाई धन्यवाद ! बहुविवाह जिन्दावाद !!
झोला र झोले
झोलाको उत्पत्ति कहिले भयो ? झोला पहिलो पटक कसले बनायो ? र पहिलो पटक झोला बोक्ने मानिस को थियो होला ? र आजका झोलेहरूको यो झोले उपाधि पहिला कसले पायो होला ? त्यसको नालीबेली र इतिहास खोतल्न पहिला आफ्नै दिमाग खोतले, अहँ कहिँ कतै आधिकारिक पुष्टि सहितको झोला भेटिएन ।
कुनै पनि बस्तुको उत्पत्तिको बारेमा आधिकारिक प्रमाण नभेटिएपछि यसरी भयो होला, यसरी बने होला भन्ने अनुमानको भरमा त्यसलाई पुष्टि गर्ने प्रयास गरिन्छ । मैले पनि त्यहि अनुसार अनुमानका भरमा जे जति बुझे र जे जति अनुमान लगाएँ सोहि अनुसार पुष्टि गर्ने कोशिस गरेको छु । सर्व प्रथम पौराणिककालमा प्रवेश गरे, कहिँकतै कसैले झोला भिरेको भेटिएन र भेटिएका छैनन् ।
धर्मग्रन्थ केलाएर हेरे पौराणिक कथामा खोतलेर हेरे, फिलिम, युटुब, गुगल सारा चप्पा चप्पा छान मारे । न ब्रह्मा, न विष्णु न महेश्वर कसैले झोला भिरेको भेटिएन । ऋषिमुनिहरूका झोली तुम्बा भन्ने त सुनियो तर कसैले भिरेको देखिएन अर्थात न रामले झोला भिरे न कृष्णले झोला भिरे रावण कंश राक्षस देबि देउता कसैले पनि झोला भिरेको प्रमाण भेटिएन नत सत्ययुगमा, नत त्रेतायुगमा नत द्वापर युगमा कहि कतै कसैले नत झोला बनाए नत झोला भिरे ।
यस अर्थले झोलाको उत्पत्ति कलियुगसँगै भएको मान्न सकिन्छ । झोलाको उत्पत्ति नभएपनि त्यो बेला झोले थिए की थिएनन् होला भनेर सोच्दै जाँदा झोला नै नभई झोले कसरी भइन्छ र ? भन्ने याद आयो । झोला बोक्ने लाई मात्रै झोेले भन्नु पर्दो रहेछ भन्ने नहुँदो रहेछ । यहाँ कयौंं मान्छेहरू झोला नबोकेर नै झोले भएका छन् । झोले नामले डामिएका छन् ।
त्यसरी विचार गर्दा झोले दुई प्रकारका हुँदा रहेछन् भन्ने लाग्यो । एउटा झोले झोलै नबोकेर आफ्नो मालिक आफ्नो नेता मुखिया अझ यसो भनौ जसको गुणगान गाइदिने गलत कुरा गरेपनि सहि मानिदिने हावादारी गफ चुटे पनि परर ताली पड्काइदिने ती एक किसिमका झोला नबोकेरै झोले बनेका झोलेहरू हुन् ।
दोस्रो झोला बोकेर झोले भएकाहरू जसले आफ्नो डायरी कापी, किताब आवश्यक सामाग्री झोलामा राखेर सधै हिँड्छ त्यस किसिमको झोले । जस्तो उदाहरणको लागि म ९ कक्षामा पढ्दा एक जना शिक्षक हुनुहुन्थ्यो जसले हामीलाई नेपाली विषय पढाउनु हुन्थ्यो शास्त्री सर भन्थ्यौं पछि शास्त्री सर भन्दा भन्दै उहाँले झोला भिर्न कहिल्यै छोड्नु भएन, स्कुल आउदा सधै झोला भिरेरनै आउनु हुन्थ्यो ।
हामी विद्यार्थी साथी भाई बीच कुराकानीमा वहाँलाई झोले सर भन्थ्यौं । किनकी अरू कुनै सरले झोला बोक्नु हुन्थेन शास्त्री सरको झोलामा अरू सामान के के हुन्थ्यो थाहा भएन एउटा कविताको डायरी हुन्थ्यो र विशेष गरि बिजुली खैनीको डिब्बा भने त्यो झोलामा कहिल्यै छुट्थेन ।
जे होस्, आफ्नो झोला बोक्ने मध्ये पनि बोकी रहनेहरूलाई पनि झोले भनिदिदा फरक पर्दो रहेनछ । अर्को फेरि झोला त बोक्ने तर आफ्नो होइन अर्काको बोक्ने वा अर्काको बोकिदिने झोले ।
हाकिमको झोले– हाकिमको पछि पछि लाग्ने, हाकिम आफ्नो अफिसबाट बाहिर निस्कदा हाकिमको झोला बोकेर पछि पछि लाग्ने गाडी सम्म पुगेर ढोका खोलिदिने, घरको आँगन सम्म झोला पु¥याएर धनुषटंकार नमस्कार फर्काएर घर फर्कने झोले । यस्तालाई गोडामोल झोले अर्थात गोडाको सट्टा अर्को गोको कन्दानी हटाएको मोल झोले भन्ने पनि गरिन्छ ।
अर्का नेताको झोले– नेताको झोला बोकेर झोला मात्र पनि के भन्ने र झोलामा नेताको दाह्री काट्ने मेसिन, दाँत माँझ्ने ब्रस, मोजा देखि कट्टु समेत राखेको झोला बोकेर हिड्ने र बेलुका गोडा मिचेर ननिदाइन्जेल सम्म झोला नछोड्ने झोले । अझ भित्री कुरो खोतल्दै जाने हो भने झोलेको अर्थ झोला बोकेर मात्र पनि झोले भइदो रहेनछ भन्ने कुरा पनि पत्ता लगाए । झोले बन्न केही विशेष गुणहरू र खुबी पनि चाहिदो रहेछ जस्तो चम्चा गिरी र चाप्लुसी गर्न जान्ने । त्यस्तै परे हाकिम साहेबको गन्जी श्रीमतीको साडी, नेताको कट्टु साबुन लगाएर टिलिक्क टल्काएर धुन सक्ने पनि हुनुपर्दो रहेछ ।
अर्को कुरो, झोला भिरेका सबै झोले बनेका पनि हुदैनन् पनि । यदि त्यसो हो भने झोला भिरेर स्कुल जाने सबै विद्यार्थीहरू झोले हुने थिए, तिनीहरू झोले होइनन् । आफ्नो काममा वा कतै भ्रमणमा झोला भिरेर हिड्नेहरू तिनीहरू पनि झोले होकइनन् । अहिले आएर झोलाको महिमा घटेपनि वास्तवमा झोलाको इतिहास र यसको महिमा अपरम्पार छ ।
कुनै समय अतिनै महत्वपूर्ण मानिने जुन झोला बोक्दा उसको आफ्नो अस्तित्व बढ्थ्यो, मर्यादित थियो, सारा जनताको आशाको कुटुरो समेत बनेको हुन्थ्यो झोला । कोही बाहिर शहरतीर गएर फर्केका बाउहरूले भिरेको त्यो झोला परिवारको लागि आशा, खुशी र मायाले भरिएको हुन्थ्यो । सबैको ध्यान त्यही झोलामा हुन्थ्यो ।
केटाकेटी छोराछोरीका लागि चकलेट, बिस्कुट, चाचा–नाना बोकेर आउथ्यो त्यो झोला भने श्रीमतीका लागि उपहार बोकेर आउथ्यो त्यो झोला । अझ लाहुर बाट आएको लाहुरेको झोला त गाउँभरिको आशा बोकेर आउथ्यो । केही न केही पाहुर कोशेली गाँउभरिका लागि अटाउथ्यो त्यो झोलामा । कति सान र इज्जत थियो त्यो बाउको झोलामा र लाहुरेको झोलामा ।
भारत, खाडी मुलुकमा पसिना बगाएर फर्किदा लिएर आएको त्यो झोला आमा बाउको ऋणको भार कम गर्ने खुशी बनेर आउने ती सम्मानित ती झोला बोक्नेहरू कहिल्यै झोले भएनन् । केही गद्दार, ढोके, हुक्के, चाटुक्दार, चम्चाका कारण हिजोको मनचिन्ते झोला आज बदनाम भएको छ । झोला झोले भएको छ ।
हुनत मैले अगाडी नै भने झोला बोक्ने मात्र झोले हुदैनन्, पिछेलग्गुहरू पनि झोले नै हुन् । अर्को क्रान्तिको झोला– पञ्चायत कालमा पञ्चायत बिरुद्ध सामन्ती शासकका बिरुद्ध, विचारको सरजाम बोकेर हिड्थ्यो झोला ।
माओको रेड बुक, म्याक्सिम गोर्कीको आमा, चम्किलो रातो तारा, थ्यांक्यु मिस्टर ग्लाड र वि.पि. का साहित्य जस्ता बैचारिक, राजनैतिक विचारले सुसज्जित पार्टिको कार्य योजना, रणनिति र कार्यनितिका हस्तलिखित दस्तावेज बोकेर हिड्ने क्रान्तिकारी त्यो झोला आजभोली ठेकेदारका डि.पि.आर., उद्योगपति व्यापारीका कर मिनाहाका कागजात, भिजिट भिसाको पासपोर्ट र भुटानी शरणार्थीका नक्कली राहदानी बोकेर हिड्छ झोला । देशकाल परपस्थितीको परिवर्तनसँगै झोला पनि परिवर्तन हुदै गयो। अपितु, अझैपनि केही झोलाहरू र झोला बोक्नेहरूले आफ्नो अस्तित्वलाई बचाइराखेका पनि छन्।
जुनदिनबाट भ्रस्ट र बिचौलियाहरूको घृणित लालपुर्जा बोकेर हिड्न थाल्यो झोला, त्यही दिनबाट तिनै घृणित मान्छेहरू झोले बन्न पुगे र मलाई लाग्छ त्यहि दिनबाट झोले शब्दको उत्पत्ति भयो ।
झोले शब्द आज यसरी नागरीक तथा सज्जन जनताको नजरमा घृणाको पर्यायवाची बनेर चिनिन थाल्यो । चोर, फटाहा, जाली, चम्चाहरूको जमात नै अर्को तर्फबाट झोले भनेर चिनिन थाल्यो । त्यही भएर पनि आजकाल सामाजिक सञ्जालमा खुब घन्किन्छ शिशिर योगिको कवितात्मक गीत
“साचो भन्दछु देशका जहर हुन्, झोले र चम्चाहरू”
यति भएपछि सायद झोला र झोलेको महिमा र परिभाषा बुझियो पनि होला ।हुनत तपाई मेरो परिभाषालाई मान्नै पर्छ भन्ने पनि छैन। तपाईले आफ्नै तर्क द्वारा यसलाई खण्डन गर्न पनि सक्नु हुन्छ । प्रमाणित गर्नलाई थुप्रै तरिका वा आफ्नो विचारमा सहमत गराउन शब्दका जङ्लै उमार्न पनि सक्नुहुन्छ।
तर कहिले काँही तर्ककै आधारमा प्रमाणित मान्न तयार भएतापनि मनले मान्न सक्दैन जति सुकै तर्क र विचारले प्रमाणित गरेपनि भित्री मनले त्यसलाई पत्याउदैन र पनि पत्याइदिनु पर्ने हुन्छ । त्यस्तै एउटा घटना मलाई याद आउछ सायद ३५–३६ सालतीरको होकि झै लाग्छ एकदिन थाहा विचारका सुत्रधार रूपचन्द्र विष्टले त्रिचन्द्र कलेजको चउरमा आफ्ना साथीहरूलाइ जम्मा गरेर केही कुराहरू छलफल गर्दै थिए । तिनीहरू सबै विज्ञान विषयका विद्यार्थीहरू थिए ।
केही न केही उट्पट्याङ्ग गरिरहने रूपचन्द्र विष्ट त्यो बेलापनि एउटा उट्पट्याङ्ग प्रश्न तेर्साए । हुनत उनका उट्पट्याङ्ग उट्पट्याङ्ग मात्र नभएर अर्थपूर्ण पनि हुन्थे । ती सबै साथीलाई गु को स्वाद कस्तो हुन्छ भनेर सोधेछन् ।
सबै साथी अवाक नुनिलो, टर्रो, गुलियो, तितो जुनसुकै स्वाद कसैले भन्ने हो भने ए यसले दिसा खाएको रहेछ भनेर उल्ली बिल्ली पार्ने हो कि भनेर कहि कतैबाट उत्तर नआएपछि रूपचन्द्र आफैले गु को स्वाद गुलियो हुन्छ भनेर भनेछन् ।
त्यही बेला एउटा साथीले हिम्मत गरेर सोधेछन्, तपाईले खानु भाथ्यो र? त्यहीबेला रूपचन्द्रले जङ्गिदै भनेछन्, कुनै कुरा पनि प्रमाणित गर्नलाई खानै पर्ने भन्ने हुन्छ र? तर्क द्वारा प्रमाणित गर्न सके भैहाल्यो नि भनेर प्रमाणित गर्न थालेछन् जसरी भेलीमा माखाहरू झुम्मिन्छन् त्यसरी नै गु मा पनि माखाहरू झुम्मिन्छन् ।
यदि भेली गुलियो हुन्छ भने गु पनि गुलियो हुनुपर्छ भनेर भनेछन् । यसरी कुनै कुरा तर्कले त्यसलाई प्रमाणित गरेको हुन्छ । तर मनले स्वीकार्न मान्दैन । त्यस्तै यो झोले शब्दलाई पनि जतिनै राम्रो लेपन लगाए पनि देश निर्माण गर्ने समृद्धिको झोला बोक्ने हो म झोले हुँ भने पनि भित्री मनले स्वीकार्दैन । यसरी गु गुलियो हुन्छ भनेर स्वीकार्नै पर्ने रहेछ किनकी म झोले हुँ ।