Butwal Today

बर्दियामा गोहीको आक्रमणबाट बेपत्ता युवकको शव पाँच दिनपछि फेला

२५ श्रावण २०८२, आइतबार
अ+
अ-

बर्दिया, २५ साउन ।

बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवा निवासी १९ वर्षीय रुप मिलन थारुको शव गोहीको आक्रमणमा परी बेपत्ता भएको पाँच दिनपछि फेला परेको छ।

थारु साउन २० गते कर्णाली नदीको भँगालोमा पौडी खेल्ने क्रममा ठाकुरबाबा नगरपालिका–९ को मध्यवर्ती क्षेत्रमा गोहीको आक्रमणमा परेका थिए। खोजी अभियान जारी रहँदा उनको शव शनिबार घटनास्थलदेखि करिब साढे दुई किलोमिटर तल घोप्टो परेको अवस्थामा फेला परेको हो।

मधुवन–१ का वडाध्यक्ष मिन बहादुर थापाका अनुसार शव क्षतविक्षत अवस्थामा रहेको छ र मृतकका पिताले पहिचान गरेका छन्। त्रिभुवन मावि मधुवनबाट हालै १२ कक्षा उत्तीर्ण गरेका थारुको शव एक गोठालाले देखेपछि स्थानीयवासीमार्फत प्रहरीलाई जानकारी गराइएको थियो।

घटनापछि सुरक्षाकर्मी, निकुञ्ज कर्मचारी तथा स्थानीयवासीले निरन्तर खोजी अभियान चलाउँदै आएका थिए। फेला परेको शवलाई पोष्टमार्टमका लागि बर्दिया अस्पताल, गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?