© २०२३
काठमाडौँ ।
माल्टामा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको आइतबार बिहान बिरकिरकारा क्षेत्रमा भएको ‘हिट–एण्ड–रन’ दुर्घटनामा ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार पुन तीन वर्षदेखि माल्टामा रोजगारीमा थिए । मृतकको परिवार हाल पोखरामा बसोबास गर्दै आएको र परिवारलाई घटनाबारे जानकारी गराइसकिएको खनालले जानकारी दिए ।
स्थानीय सञ्चारमाध्यम माल्टा टाइम्सका अनुसार, पुन सवार मोटरसाइकललाई एक कारले ठक्कर दिएर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय समय अनुसार बिहान ५:२० बजे, त्रिक साल्भु पसाइला सडकमा पुनको मोटरसाइकललाई कारले ठक्कर दिँदा उनी घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएपछि सो कार पार्किङमा रहेका अन्य तीन गाडीमा ठोक्किएको थियो ।
दुर्घटनापछि कारमा सवार चालकसहित तीन जना फरार भएका थिए । घटनाको केहीबेरमै भेटिएकी १८ वर्षीया मोस्टा निवासी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि उक्त कारमै थिइन् भन्ने आशंका गरिएको छ । उनलाई उपचारका लागि माटर–देई अस्पताल लगिएको छ भने स्वास्थ्य अवस्था खुलाइएको छैन ।
घटनाका मुख्य चालक र अन्य सवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक पुनको शव हाल माटर–देई अस्पतालमै राखिएको छ ।
केही साताअघि पनि माल्टामै एक नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । माल्टामा हाल करीब १० हजार नेपाली कामदार रहेको अनुमान गरिन्छ । लगातार भइरहेका यस्ता घटनाले त्यहाँ कार्यरत नेपाली समुदायमा चिन्ता बढाएको छ ।