Butwal Today

बाँके राप्तीसोनारी-६ का दुई बालक घरबाटै हराए

२४ श्रावण २०८२, शनिबार
अ+
अ-

नेपालगञ्ज, २४ साउन ।

बाँकेको राप्ती सोनारी ६ का दुई बालक बिहीबार अपराह्न देखि हराएका छन् । राप्ती सोनारी ६ सिधनवाका अन्दाजी १३ वर्षीय सागर थारु र कमैया डांडाका अन्दाजी ११ वर्षीय बिवेक थारु बिहीवार अपराह्न ४ बजेदेखि हराएका हुन् ।

ती दुबै बालक सिद्धेश्वर माविमा कक्षा ६ मा अध्ययनरत छात्र रहेको विद्यालयका शिक्षक सोमनाथ थारुले जानकारी दिए । दुबैजना तीन दिन अघि यस वर्षको त्रैमासिक परीक्षा दिएर बसेका थिए ।

उनीहरूले यसअघि नेपालगञ्जको होटलमा काम गर्न जाने भनेर साथीहरुसँग कुरा गरेको बुझिएको छ । अपराह्न ४ बजेदेखि परिवारबाट सम्पर्क विहीन भएका दुबै बालक बेलुका सम्म पनि घरमा न आएपछि हराएको आशंका गरेर खोजी गर्न थालेको राप्ती सोनारी ६ का वडा अध्यक्ष लबराज खरेलले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा शुक्रवार दिनभर सम्भावित स्थानमा खोजतलास गरेपनि कतै पत्ता नलागेको उनले जानकारी दिए । हराएका बालकको खोजी कार्य जारी राखेको वडा अध्यक्ष खरेलले बताए ।