© २०२३
चन्द्रौटा, २४ साउन ।
राति निद्रामा सुतेका कपिलवस्तुका शिवराज नगरपालिका–१, सोनपुरका दिलराज थारु बिहान उठ्दा टाउको, पेट र शरीर दुखाइले अचम्मित भए । सुरुमा पेट सुमसुम्याउँदा केही राहत महसुस भए पनि अवस्था सुधार भएन । उनी स्थानीय क्लिनिक पुगे, तर समस्या झन् गम्भीर बन्दै गयो ।
अन्ततः सार्वजनिक बस चढेर कपिलवस्तु सर्प दंश उपचार केन्द्र, गोरुसिङ्गे पुग्दा मात्र उनको ज्यान जोगियो । “राति झुल नलगाउनु ठुलो गल्ती रहेछ” उनले भने– “ढिला भएमा म बाँच्दिन थिएँ ।” अरूको कुरा सुनेर बालापुरमा रहेको एक क्लिनिकमा गएको उनले बताए ।
उपचारपछि झनै अप्ठ्यारो भएपछि चन्द्रौटाको एक स्वास्थ्य संस्थामा गएको उनले बताए । त्यहाँको स्वास्थ्यकर्मीको सल्लाहपछि केन्द्र आएर ज्यान जोगिएको थारुले अनुभव सुनाए । अहिले उनले नयाँ जीवन पाएको अनुभूति गरेका छन् ।
यस्तै अर्घाखाँचीका भूमिकास्थान नगरपालिका वडा नम्बर–३, का किरण बन्जाडे पनि उस्तै पीडाबाट गुज्रिए । राति हिँड्दा के ले टोकेको थाहा थिएन, तर शंका लागेपछि उनी सीधै सर्प दंश केन्द्र पुगे । “झारफुकमा नलागी अस्पताल आएको निर्णय जीवन रक्षक साबित भयो” उनले भने ।
सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८ सय ६३ जनाले सेवा लिएको बताए । जसमा सबैभन्दा बढी महिला रहेको तथ्याङ्क छ । महिला ९३९ जना, ९२४ जना पुरुष गरी ७ साय ४५ जनालाई सर्पले टोकी सेवा लिएको केन्द्रले जनाएको छ ।
केन्द्रका व्यवस्थापक भण्डारीका अनुसार उपचार गर्न आउने क्रममा उपचार नपाउँदै ८ जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट विगतका वर्षमा दर्जनौँको मृत्यु भए पनि यस बर्ष अत्यन्तै न्यून भएको छ । उपचार केन्द्रमा अन्य बिरामीहरूको उपचार गरी निको हुने गरेका छन् ।
केन्द्रमा दैनिक करिब १० जना बिरामी उपचारका लागि आउने गरेको व्यवस्थापक भण्डारीको भनाइ छ । पछिल्लो केही वर्ष यता पहाडी जिल्लाका सर्प दंशका बिरामीसमेत आउने गरेका छन् । कपिलवस्तुसहित अर्घाखाँची, रोल्पा, दाङ, प्युठान, गुल्मी र रुपन्देही लगायत छिमेकी देश भारतबाट पनि सर्प दंशका बिरामी आउने गरेका छन् ।
तर पनि दाङ, प्युठान लगायतका जिल्लाका बिरामीमा कमी आएको छ । अन्य जिल्ला र ठाउँको तुलनामा यस सर्प दंश उपचार केन्द्रमा सबैभन्दा धेरै बिरामी कपिलवस्तुको शिवराज महाराजगन्ज, शुद्धोधन र मायादेवी लगायत पालिकाका बिरामी बढी आउने गरेका छन् ।
यस अघि करिब केहि वर्ष पहिले सर्प दंशका बिरामीको उपचार बहादुर गन्जमा हुने गरेको थियो ।
त्यहाँ उपचार गर्न बन्द भएपछि गोरुसिङ्गे उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गए पनि मृत्यु भने हुन नदिन केन्द्रले चुस्त दुरुस्त सेवा प्रदान गरेको भण्डारीले बताए । सर्प दंश उपचार केन्द्रले सर्पको टोकाइबाट बच्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।
मेला, महोत्सव, विद्यालय र झारफुक गर्ने व्यक्तिलाई सचेत गराउँदै आएको एक आर्थिक वर्षमा १३ वटा कार्यक्रम गरेको उपचार केन्द्रले जनाएको छ । व्यवस्थापक भण्डारीले गत वर्षको तुलनामा यस वर्ष सर्पले टोकेपछि झारफुक गराएर निको हुने अन्धविश्वासमा केही कमी आएको दाबी गरे ।
करेत जातको सर्प अन्य सर्पको तुलनात्मक रूपमा बढी विषालु भएको बताउँदै सुत्ने बेला झुलको प्रयोग गर्ने, घर, आगन सफा गर्ने, राति टर्च लाइट बाल्ने लगायत सावधानी अपनाउन आग्रह उनले गरे ।
गर्मी यामको समयमा बिहान सुतेर उठ्दा पेट दुख्ने, साँस फेर्न गाह्रो हुने जस्ता अप्ठ्यारो महसुस भएमा सर्पले टोकेको अशंका गरी अन्यन्त्र उपचारमा नलगेर सर्प दंश उपचार केन्द्रमा आउन भण्डारीले अनुरोधसमेत गरे ।
कपिलवस्तु सर्प दंश उपचार केन्द्र शम्शेर दलगण गोरुसिङ्गे ब्यारेकको प्राविधिक सहयोग र बुद्धभूमी नगरपालिकाको व्यवस्थापनमा केन्द्र सञ्चालन हुँदै आएको छ ।