© 2026
समाचार सारांश
बर्दिया अस्पतालमा हालसम्म १५ जना नवजात शिशुहरूमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ ।
अधिकांशमा ज्वरो, सास फेर्न गाह्रो हुने, दूध नखाने, शरीर चलाउन नसक्ने लक्षण देखिएका छन् ।
संक्रमित शिशुहरूको अवस्था संवेदनशील भए पनि नियन्त्रणयोग्य रहेको अस्पतालको भनाइ ।
बर्दिया, २३ साउन ।
बर्दिया अस्पतालमा पछिल्लो समय नवजात शिशुहरूमा स्क्रब टाइफसको सङ्क्रमण बढेर गएको छ । सङ्क्रमित नवजात शिशुका आमाहरू दिनरात अस्पतालमै बसेर उपचार गरिरहेका छन् । अहिलेसम्म अस्पतालमा १५ जना नवजात शिशुहरूमा स्क्रब टाइफस पुष्टि भइसकेको छ । उनीहरूको उपचार अस्पतालमा भर्ना गरेर भइरहेको छ भने थप केहीको परीक्षण प्रक्रियामा छ ।
स्क्रब टाइफस प्रायः झारपात भएका क्षेत्रमा पाइने कोर्रा (चिगर) नामक किराबाट सर्ने जीवाणु जन्य रोग हो । यो रोग विशेषगरी गर्मी र वर्षा याममा फैलिन्छ र सङ्क्रमण भएका व्यक्तिमा ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने र शरीरमा ¥यास आउने लक्षण देखिन्छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मेडिकल सुपरिटेण्डेन सुभाष पाण्डेका अनुसार स्क्रब टाइफस सङ्क्रमण भएका १५ जना नवजात शिशुको अवस्था संवेदनशील भए पनि नियन्त्रणयोग्य छ । “हामीले ती शिशुहरूलाई भर्ना गरी विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,” डा. पाण्डेले बताए, “साथै, थप सङ्क्रमण नफैलियोस् भनेर आइसोलेसन वार्डमार्फत छुट्टै उपचार गरिँदै छ ।”
डा. पाण्डेका अनुसार ती सङ्क्रमित शिशुहरू सबै गुलरिया नगरपालिका क्षेत्रका हुन्, जसमा दुई जना जन्मेको एक हप्ता नपुग्दै सङ्क्रमित भएका थिए । गुलरिया नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया रुबिना खातुनकी नवजात छोरी ८ दिनको हुँदा ज्वरो र खोकीको लक्षण देखिएपछि अस्पताल ल्याइएकी थिइन् । आरडीटी र सीबीसी परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भयो ।
“बच्चाको सास फेर्न गाह्रो भएको थियो, तातो हुँदै गयो,” रुबिनाले बताइन्, “पहिला त सामान्य लाग्यो, तर पछि शरीरमा डाबर जस्तो देखियो अनि अस्पताल ल्याएँ । अहिले पनि भेन्टिलेटरकै निगरानीमा छ ।”गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी सीता चौधरीकी नवजात छोरीमा जन्मेको पाँचौँ दिनमै उच्च ज्वरो, टाउको हल्लाउन नमिल्ने, र हातखुट्टा चलाउन नसक्ने अवस्था देखिएको थियो । “बच्चाले दूध पनि खान छाडेको थियो,” सिता बताउँछिन्, “डाक्टरले रिपोर्ट देखाउँदै स्क्रब टाइफस भन्यो त्यो दिन त म त डरैले रोएँ ।”
गुलरिया नगरपालिका वडा नम्बर २ की २४ वर्षीया सरस्वती नेपालीकी नवजात छोरीमा जन्मेको दसौँ दिनमा लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो । हाल उनको छोरी अक्सिजनको सहयोगमा सास फेर्दै उपचाररत छ । “एक छिन ज्वरो घट्ने, फेरि बढ्ने गरिरहन्थ्यो,” सरस्वतीले भनिन्, “हामी त स्क्रब टाइफस भनेको सुनेकै थिएनौँ ।”
बर्दिया अस्पतालका बाल रोग विशेषज्ञ डा. विश्वानाथ साहका अनुसार स्क्रब टाइफस वयस्कभन्दा नवजात शिशुमा बढी खतरनाक हुन्छ । गुलरिया नागरपालिका वडा नम्बर४ की ३० वर्षीया जमुना चौधरी भन्छिन् — “हामीलाई त झारपात नजिक बच्चा लैजानु हुँदैन भन्ने थाहा नै थिएन । अहिले घरमै अर्को बच्चा छ, डर लागिरहेको छ ।”