© २०२३
बुटवल, २३ साउन ।
बुटवलमा बसोबास गर्दै आएका गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ का स्थायी बासिन्दालाई लक्षित गर्दै दुई दिने विशेष सरकारी सेवा शिविर सञ्चालन गरिएको छ ।
वडा कार्यालयको अगुवाइमा शुक्रबारदेखि कालिकानगरस्थित दुनाटपरी कटेजमा सेवा शुरु भएको हो । शिविरमा जन्म र मृत्यु दर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा भत्ता नविकरण, तथा जग्गाको तिरो तिर्ने सेवा प्रदान गरिएको वडा अध्यक्ष होमबहादुर रानाले बताए । बुटवलमा बसोबास गर्ने पाका उमेरका सेवाग्राहीलाई लक्षित गरेर सेवा प्रवाह गरिएको उनले बताए । “गाउँ जान नसक्ने सेवाग्राहीलाई नजिकैबाट सेवा दिन पाउँदा खुशी लागेको छ,” उनले भने ।
गतवर्ष पंजिकरणतर्फ ३९ र सामाजिक सुरक्षातर्फ १६ गरि ५५ जनाले सेवा लिएको वडा सचिव विद्या भण्डारीले जानकारी दिइन् । वडा कार्यालयले आगामी दिनमा अझ बढी जनसहभागिता सुनिश्चित गर्दै यस्ता शिविरलाई निरन्तरता दिने उनले बताए ।