© 2026
बुटवल, २३ साउन ।
२०८१ सालको कक्ष १२ अर्थात एसएलसी परीक्षामा आफ्ना विद्यार्थी नेपाल प्रथम भएको दावी सहित दीप बोर्डिङ हाइस्कुलले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको हो । दीप बोर्डिङबाट कक्षा १२ को परीक्षामा सञ्जोग राजभण्डारीले ३.९६ जिपीए ल्याएका छन् भने उत्सवराज भट्टराईले ३.९५ जीपीए ल्याएका छन् । यी दुवै विद्यार्थीलाई विद्यालयले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमका साथमा सम्मान गरेको हो ।
त्यस अवसरमा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यालयले हासिल गरेको अहिलेको नतिजा उत्कृष्ट भएको दावी गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई सम्मान गरिएको बताए । उत्कृष्ट नतिजा सहित आफ्नो विद्यालय नेपाल प्रथम भएको उनले दावी गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थी तथा तिनका अभिभावकहरुलाई सम्मान गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३.९६ जीपएए प्राप्त गरी नेपाल प्रथम भएको र उत्सवराज भट्टराईले ३.९५ जीपीए प्राप्त गरी नेपाल दोस्रो भएको प्राचार्य न्यौपानेको दावी छ । उनका अनुसार दीप बोर्डिङले यसअघि पनि उत्कृष्ट नतिजा निकाल्दै आएकोमा यो पटक नेपालमै सर्वाधिक अंक सहित उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । १७८ जना परीक्षार्थीमध्ये संजोग नेपाल प्रथम र उत्सव नेपाल दोस्रो भएको आफूहरुको दावी रहेको प्रधानाध्यापक न्यौपानेले बताए । दीपबाट १७८ मध्ये १८ जनाले ए प्लस, ६७ जना उ, ५५ जनाले वि प्लस र ३० जना विद्यार्थीले बि जिपिए ल्याएको जनाएको छ । बुटवल उपमहानगरभित्रका संस्थागत विद्यालयहरुमा दीपले सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको न्यौपानेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुले दुई मेधावी विद्यार्थीहरू नर्सरी कक्षादेखि नै विद्यालयमा अध्ययन गरी कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बधाई दिए । उनले विद्यार्थी र शिक्षकहरुलाई बधाई दिदै आगामी दिनमा पनि दीपले आफ्नो गुणस्तरीय शिक्षाको प्रतिबद्धता कायम गर्ने बताए । त्यस अवसरमा एसइई परीक्षामा चार जीपीए ल्याएका छात्रा सक्रिना कुँवर र छात्र सुधांशु शेखर झा र उनका परिवारलाई पनि सम्मान गरिएको थियो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने मेधावी विद्यार्थीहरूलाई विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आगामी फागुन ५ गते सम्मान तथा पुरस्कार वितरण गर्ने उपप्रचार्य कलाधर अर्यालले बताए ।